काठमाडौं । नेकपा (एमाले)ले सुनसरीमा भएको घटनाको नैतिक जिम्मेवारी लिँदै प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङले राजीनामा दिनुपर्ने माग गरेको छ।
प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा बोल्दै एमाले सांसद पद्मा अर्यालले सुनसरीमा भएको घटनाप्रति सरकार गम्भीर बन्न नसकेको आरोप लगाउँदै प्रधानमन्त्री र गृहमन्त्रीले नैतिक जिम्मेवारी वहन गर्नुपर्ने बताइन्।
उनले सुनसरीमा यति गम्भीर घटना हुँदा पनि प्रधानमन्त्रीको सक्रिय उपस्थिति नदेखिएको भन्दै प्रश्न उठाइन्।
“यति ठूलो घटना हुँदा प्रधानमन्त्री कहाँ हुनुहुन्छ?” भन्दै अर्यालले सरकार शान्ति–सुरक्षा कायम गर्न प्रभावकारी रूपमा प्रस्तुत हुन नसकेको आरोप लगाइन्।
सांसद अर्यालले सरकारले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न तथा प्रभावित क्षेत्रमा शान्ति र सुरक्षा सुनिश्चित गर्न पनि माग गरिन्।


