काठमाडौं । सुनसरीसहित मधेसका विभिन्न जिल्लामा तनाव र हिंसात्मक घटना बढिरहेका बेला गृहमन्त्री सुधन गुरुङ आज साँझ सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज जाने भएका छन्।
मन्त्री गुरुङ विराटनगर विमानस्थल हुँदै कप्तानगञ्ज पुग्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ। उनीसँगै स्वास्थ्यमन्त्री निशा मेहतासमेत त्यसतर्फ जाने तयारी रहेको छ।
स्रोतका अनुसार गृहमन्त्री गुरुङले घटनाका क्रममा गोली लागेर मृत्यु भएका ओमप्रकाश मेहताको परिवारसँग भेटघाट तथा समवेदना व्यक्त गर्नेछन्।
कप्तानगञ्जको स्थलगत निरीक्षण र स्थानीय अवस्था बुझिसकेपछि गृहमन्त्री गुरुङ सिराहा जाने कार्यक्रम रहेको पनि स्रोतले जनाएको छ।
सुनसरीको घटनापछि सरकारले सुरक्षा व्यवस्था कडा बनाउनुका साथै घटनाको छानबिनका लागि समिति गठन गरिसकेको छ। पछिल्ला घटनाक्रमबीच गृहमन्त्रीको प्रभावित क्षेत्रमा हुने भ्रमणलाई सरकारले शान्ति–सुरक्षा अवस्था सामान्य बनाउन तथा स्थानीय सरोकारवालासँग छलफल गर्ने प्रयासका रूपमा हेरिएको छ।


