CLI

सुनसरी सर्वदलीय बैठकको पाँचबुँदे प्रतिबद्धता, शान्ति र सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई आग्रह

काठमाडौं ।  देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनापछि विकसित परिस्थितिलाई मध्यनजर गर्दै सुनसरीमा बसेको सर्वदलीय बैठकले जिल्लामा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न पाँचबुँदे संयुक्त प्रतिबद्धता सार्वजनिक गरेको छ।

प्रतिबद्धतामा घटनामा मृत्यु भएका देवानगञ्जका ओमप्रकाश मेहताप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरिएको छ। साथै, घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

बैठकले घटनापछि जिल्लाका विभिन्न क्षेत्रमा देखिएको साम्प्रदायिक तनाव, हुलदंगा तथा अराजक गतिविधिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता गतिविधि रोक्न सबै राजनीतिक दल, धार्मिक अगुवा, नागरिक समाज तथा सरोकारवाला पक्षले आ–आफ्नो ठाउँबाट सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।

प्रतिबद्धतामा संकटको अवस्थामा आक्रोश, प्रतिशोध र हिंसाको बाटो नअपनाई संयम, विवेक र संवादमार्फत समस्या समाधानका लागि संयुक्त पहल गर्ने निर्णय गरिएको छ। सर्वसाधारणलाई पनि संयमित रहँदै सामाजिक सद्भाव कायम राख्न सहयोग गर्न आग्रह गरिएको छ।

यस्तै, सामाजिक सञ्जालमा भ्रामक, उत्तेजक वा अराजक सामग्री प्रकाशन तथा साझा नगर्न र आधिकारिक स्रोतबाट प्राप्त सूचनामा मात्र विश्वास गर्न संयुक्त अपिल गरिएको छ। गलत सूचना र अफवाहले समाजमा थप तनाव सिर्जना गर्न सक्ने भएकाले सामाजिक सञ्जाल जिम्मेवारीपूर्वक प्रयोग गर्न सबैलाई आग्रह गरिएको छ।

बैठकले पछिल्ला प्रदर्शनमा किशोर तथा युवाको सहभागिता देखिएको उल्लेख गर्दै अभिभावकलाई विशेष जिम्मेवार बन्न आग्रह गरेको छ। युवालाई अनावश्यक रूपमा घरबाहिर ननिस्कन, भिडभाड तथा सम्भावित झडपमा सहभागी हुन नदिन आवश्यक निगरानी र निर्देशन दिन अभिभावकसँग अपिल गरिएको छ।

सरोकारवाला पक्षहरूले जिल्लामा शान्ति, सामाजिक सद्भाव र आपसी विश्वास कायम राख्न सबै समुदाय, राजनीतिक दल, धार्मिक अगुवा, नागरिक समाज तथा सर्वसाधारणबीच सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

Leave Your Comment

Related News