काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी ओलीले सुनसरीको देवानगञ्ज गाउँपालिकामा विगत केही दिनदेखि उत्पन्न तनावग्रस्त परिस्थितिमा राज्य पक्षबाट भएको बल प्रयोगको घटनाप्रति आपत्ति जनाएका छन्।
आज एक विज्ञप्ति जारी गर्दै अमानवीय क्रम रोकिनुको सट्टा झन् उग्र बन्दै भएको बताएका हुन्। उनले जटिल र संवेदनशील घडीमा सम्पूर्ण नागरिक, राजनीतिक दल तथा सरोकारवालाहरूलाई चार बुँदे अपिल गरेका छन्।
जनतालाई आपसमा विभाजित गर्दै अवाञ्छित उद्देश्य पूरा गर्ने षड्यन्त्रहरू भइरहेको हुन सक्नेतर्फ सचेत गराउँदै सामाजिक सद्भाव र एकता कायम राख्नका लागि सक्रिय हुन अनुरोध गरेका छन्।
नागरिकको जीउधनको रक्षा गर्नु र संवादको माध्यमबाट समस्याको समाधान गरी देशलाई शान्तिको बाटोमा लैजानु सरकारको प्राथमिक दायित्व भएपनि मौन बसेको भन्दै सरकारमाथि प्रश्न उठाएका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय सुरक्षा र सामाजिक सुव्यवस्था संवेदनशील अवस्थामा पुग्दा समेत सरकारले देखाएको उदासीनता, अत्यधिक बल प्रयोग र मौनता अत्यन्त शङ्कास्पद एवं भर्त्सनायोग्य छ । हिंसात्मक कदम तत्काल रोकी अविलम्ब संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्दछु ।’
मुलुक विषम परिस्थितिबाट गुज्रिरहेको बेला मुख्य राजनीतिक दलहरूले आपसी राजनीतिक प्रतिस्पर्धा, आरोप-प्रत्यारोप र सस्तो लोकप्रियताभन्दा माथि उठेर मुलुकमा शान्ति, सुरक्षा र स्थायित्व कायम गर्न सहकार्य गर्नु आवश्यक रहेको उल्लेख गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘द्वन्द्व र हिंसाबाट समस्याको समाधान हुन सक्दैन । संवाद, सहमति र जिम्मेवार सहकार्यले नै वर्तमान जटिलताबाट मुलुकलाई निकास दिने छ ।’
राष्ट्रको अस्तित्व, शान्ति-सुरक्षा र सामाजिक सद्भावमाथि सङ्कट आउन लागेको भन्दै सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी तथा विभिन्न धार्मिक एवं सामाजिक सम्प्रदायका अगुवाहरूलाई राष्ट्रिय हित र शान्ति स्थापनाका लागि एकजुट हुन आह्वान गरेका छन्।


