CLI

सुप्रिम वाइन नेपालले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नेशनल क्यापिटल नियुक्त

काठमाडौं । सुप्रिम वाइन नेपाल लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) प्रक्रिया अगाडि बढाउने क्रममा नेशनल क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक (Issue Manager) नियुक्त गरेको छ। कम्पनीले यसलाई आफ्नो दीर्घकालीन व्यवसाय विस्तार योजनाको महत्वपूर्ण चरणका रूपमा लिएको जनाएको छ।

आईपीओ व्यवस्थापनसम्बन्धी सम्झौतामा साउन १४ गते काठमाडौंको पानीपोखरीस्थित नेशनल क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालयमा दुवै संस्थाका प्रतिनिधिबीच हस्ताक्षर भएको हो। २०७१ सालमा स्थापना भएको सुप्रिम वाइन नेपाल लिमिटेडको मुख्य कार्यालय काठमाडौंको बुढानीलकण्ठ–३ मा रहेको छ। कम्पनीले AKIRA र SUB MARINE ब्रान्डमार्फत प्रिमियम तथा फलफूलजन्य वाइन उत्पादन गर्दै नेपाली बजारमा आफ्नो उपस्थिति विस्तार गर्दै आएको छ। मदिरा, पेय पदार्थ तथा एफएमसीजी क्षेत्रमा लामो अनुभव हासिल गरेको व्यवस्थापन टोलीको नेतृत्वमा कम्पनी हाल नाफामूलक रूपमा सञ्चालन भइरहेको जनाएको छ।

कम्पनीले अब उत्पादन क्षमता विस्तारसँगै कृषि पर्यटन (Agro-Tourism) क्षेत्रमा समेत प्रवेश गर्ने रणनीति अघि सारेको छ। व्यवस्थापनका अनुसार आईपीओबाट संकलित पूँजी उत्पादन विस्तार, ब्राण्ड प्रवर्द्धन, बजार विस्तार तथा दीर्घकालीन व्यवसायिक योजनाको कार्यान्वयनमा उपयोग गरिनेछ।

सुप्रिम वाइनका अनुसार नेपालमा वाइन उद्योगको दीर्घकालीन सम्भावना अझै व्यापक रहेको छ। पछिल्लो एक दशकमा नेपालको मदिरा उद्योग औसत २० देखि २५ प्रतिशत वार्षिक दरले विस्तार हुँदै आएको भए पनि वाइनको हिस्सा कुल मदिरा बजारको करिब १ प्रतिशत मात्र रहेको कम्पनीको विश्लेषण छ। उपभोक्ताको रुचिमा आएको परिवर्तन, बढ्दो आयस्तर तथा स्वदेशी प्रिमियम उत्पादनप्रतिको आकर्षणका कारण वाइन बजार अझ विस्तार हुने विश्वास कम्पनीले व्यक्त गरेको छ।

आईपीओ व्यवस्थापनको जिम्मेवारी पाएको नेशनल क्यापिटल लिमिटेड नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहायक कम्पनी तथा इजाजतप्राप्त मर्चेन्ट बैंकर हो। कम्पनीले निष्कासन तथा बिक्री व्यवस्थापन, लगानी व्यवस्थापनलगायत मर्चेन्ट बैंकिङ सेवा प्रदान गर्दै आएको छ। सम्झौतापछि दुवै संस्थाका प्रतिनिधिहरूले यस सहकार्यले आईपीओ प्रक्रिया व्यावसायिक, पारदर्शी र प्रभावकारी रूपमा सम्पन्न गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। साथै, सार्वजनिक कम्पनीका रूपमा सुप्रिम वाइन नेपालको आगामी विस्तार यात्रा तथा पूँजी बजार प्रवेशलाई यो साझेदारीले थप बल पुर्‍याउने अपेक्षा गरिएको छ।

Leave Your Comment

Related News