CLI

ईपीएस आवेदनको चापसँगै राहदानी विभाग दुई सिफ्टमा सेवा सञ्चालन

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागमा पछिल्ला दिनहरूमा राहदानी बनाउने सेवाग्राहीको अत्यधिक भीड लागेको छ। विशेषगरी दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत आवेदन दिने नेपालीको सङ्ख्या बढेसँगै विभागमा सेवाग्राहीको चाप उल्लेख्य रूपमा बढेको हो।

बढ्दो भीडलाई व्यवस्थापन गर्न राहदानी विभागले साउन १४ गतेदेखि २२ गतेसम्म दुई सिफ्टमा सेवा सञ्चालन गर्ने निर्णय गरेको छ। विभागका अनुसार पहिलो सिफ्ट बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म र दोस्रो सिफ्ट दिउँसो २ बजेदेखि बेलुकी ९ बजेसम्म सञ्चालन हुनेछ।

यस अवधिमा पर्ने सार्वजनिक बिदा, शनिबार र आइतबारसमेत बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म विभाग खुला रहनेछ। सेवाग्राहीको सहजताका लागि आगामी सोमबारसम्म राहदानी आवेदन फाराम खुला राखिने विभागले जनाएको छ।

राहदानी बनाउन तथा तयार भएको राहदानी लिन विभागमा दैनिक लामो लाइन लाग्ने गरेको छ। समयमै राहदानी प्राप्त गर्न कठिनाइ भएको भन्दै सेवाग्राहीहरूले असन्तुष्टि जनाइरहेका छन्।

सरकारले ‘घर–घरमा राहदानी’ पुर्‍याउने लक्ष्य सार्वजनिक गरे पनि अहिले राहदानी विभागमै पुगेर घण्टौँ लाइनमा बस्नुपर्ने अवस्था रहेको भन्दै सेवाग्राहीहरूले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन माग गरेका छन्।

Leave Your Comment

Related News