काठमाडौं । मधेस केन्द्रित राजनीतिक दलका नेताहरूले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरी मधेस क्षेत्रमा पछिल्ला दिनमा देखिएको समस्या अवस्थाबारे छलफल गर्दै तत्काल समाधानका लागि प्रभावकारी पहल गर्न आग्रह गरेका छन्।
शुक्रबार प्रधानमन्त्रीसँग भएको भेटमा नेताहरूले सुनसरीबाट सुरु भएको तनाव क्रमशः मधेसका अन्य क्षेत्रमा पनि फैलिने जोखिम रहेको भन्दै समयमै नियन्त्रण गर्न नसके त्यसले गम्भीर रूप लिन सक्ने चेतावनी दिएका छन्।
भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सुनसरीको घटनासहित सङ्घीयताको कार्यान्वयन र त्यससँग सम्बन्धित विषयमा प्रधानमन्त्रीसँग विस्तृत छलफल भएको जानकारी दिए। उनका अनुसार सरकार समस्या समाधानतर्फ सकारात्मक देखिए पनि दीर्घकालीन समाधानका लागि संस्थागत संयन्त्र आवश्यक रहेको सुझाव दिइएको छ।
राउतले प्रधानमन्त्री कार्यालयमा छुट्टै समन्वय टोली गठन गरी जहाँ समस्या देखिन्छ त्यहाँ तत्काल पुगेर समाधान खोज्ने व्यवस्था गर्न सुझाव दिएको बताए। उनले सुरक्षाकर्मीहरूमा देखिएको आक्रोशले समेत अवस्था थप संवेदनशील बनेको भन्दै त्यस विषयमा पनि प्रधानमन्त्रीसँग छलफल भएको जानकारी दिए।
उनले अन्तरधार्मिक समितिहरू गठन गरी विभिन्न समुदायबीच नियमित संवाद सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए। साथै, सुनसरी घटनासँग सम्बन्धित केही विषयले शंका उत्पन्न गरेको भन्दै निष्पक्ष छानबिन हुनुपर्ने धारणा पनि व्यक्त गरे।
राउतले सुनसरी घटनाका क्रममा विद्युत् आपूर्ति बन्द गरिएको, शव व्यवस्थापनमा ढिलाइ भएको, सुरक्षाकर्मीको सरुवा र नेपाली सेनाको परिचालनजस्ता विषयले विभिन्न प्रश्न उठाएको बताए। उनले ती विषयमा सत्यतथ्य सार्वजनिक गर्न सरकार गम्भीर हुनुपर्ने उल्लेख गरे।
विदेशमा विशेषगरी मुस्लिम मुलुकहरूमा ठूलो सङ्ख्यामा नेपाली श्रमिक कार्यरत रहेकाले नेपालभित्र हुने साम्प्रदायिक तनावको अन्तर्राष्ट्रिय प्रभावसमेत पर्न सक्ने भन्दै सरकारले त्यसतर्फ पनि संवेदनशील हुनुपर्ने उनको भनाइ थियो।
उनले बहुमतको सरकारले पनि प्रभावकारी रूपमा काम गर्न नसके भविष्यमा समस्या झन् जटिल बन्न सक्ने चेतावनी दिँदै सङ्घीयतालाई व्यवहारमा बलियो बनाउनेतर्फ सरकार अग्रसर हुनुपर्ने बताए।
यसअघि मधेसवादी दलका नेताहरूले सामूहिक बैठक गरी मधेसमा देखिएको तनाव समाधानका लागि साझा धारणा बनाएका थिए। सोही क्रममा उनीहरूले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग पनि छलफल गरेका थिए। त्यसको निरन्तरतास्वरूप शुक्रबार प्रधानमन्त्रीसँग भेटवार्ता भएको हो।


