काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको घटनापछि उत्पन्न तनाव र त्यसको प्रभाव मधेस प्रदेशका विभिन्न जिल्लामा देखिन थालेपछि हिन्दू र मुस्लिम समुदायका धार्मिक अगुवाहरूले संयुक्त अपिल जारी गर्दै शान्ति, धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन्।
शुक्रबार जारी गरिएको संयुक्त अपिलमा सुनसरी, सिरहा तथा मधेस प्रदेशका अन्य जिल्लामा भएका घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली, शोकसन्तप्त परिवारप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।
अपिलमा नेपाल बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक राष्ट्र भएको उल्लेख गर्दै धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, आपसी सम्मान र राष्ट्रिय एकता नै मुलुकको पहिचान भएको जनाइएको छ। कुनै पनि घटना वा विवादका कारण राष्ट्रिय एकता र सामाजिक सद्भावमा आँच पुग्न नहुनेमा हस्ताक्षरकर्ताहरूले जोड दिएका छन्।
धार्मिक अगुवाहरूले सुनसरी, सिरहा तथा अन्य प्रभावित जिल्लामा भएका घटनाको निष्पक्ष छानबिन गरी कानुनविपरीतका गतिविधिमा संलग्न जोसुकैलाई कानुनी दायरामा ल्याउन सरकारसँग माग गरेका छन्। साथै, पीडित परिवारलाई आवश्यक राहत, उचित क्षतिपूर्ति र घाइतेहरूको निःशुल्क तथा प्रभावकारी उपचारको व्यवस्था गर्न पनि आग्रह गरिएको छ।
विभिन्न स्वार्थ समूहले धर्मको नाममा हिंसा फैलाउने प्रयास गरिरहेको उल्लेख गर्दै अपिलमा सबै नागरिकलाई संयम अपनाउन, उत्तेजनात्मक अभिव्यक्ति नदिन तथा सामाजिक सद्भाव खलबल्याउने गतिविधिबाट टाढा रहन आग्रह गरिएको छ।
सबै धर्मले मानव कल्याण, सहिष्णुता, सामाजिक एकता र भाइचारालाई प्राथमिकता दिने उल्लेख गर्दै कुनै पनि धर्मले अर्को धर्मका अनुयायीप्रति विभेद वा घृणा गर्न नशिकाउने तथ्यलाई आत्मसात् गर्दै सामाजिक एकतालाई थप सुदृढ बनाउन सबै पक्षको साझा जिम्मेवारी रहेको अपिलमा उल्लेख छ।
संयुक्त अपिलमार्फत स्थानीय प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल, धार्मिक अगुवा, नागरिक समाज, सञ्चारमाध्यम तथा सबै सरोकारवालालाई संवाद, सहकार्य र जिम्मेवार भूमिकामार्फत शान्ति, सुरक्षा र सामाजिक सद्भाव पुनःस्थापित गर्न सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरिएको छ।
अपिलमा सम्पूर्ण नेपालीलाई विधिको शासन, धार्मिक सहिष्णुता, राष्ट्रिय एकता र सामाजिक सद्भावको पक्षमा दृढतापूर्वक उभिन तथा हिंसा, घृणा र विभाजनकारी गतिविधिलाई अस्वीकार गर्न आह्वान गरिएको छ।
संयुक्त अपिलमा विश्व हिन्दू महासंघ नेपालका महासचिव रामचन्द्र तिवारी, जमिअत उलमा–ए–नेपालका अध्यक्ष मौलाना मोहम्मद खालिद सिद्दिकी, विश्व हिन्दू महासंघ नेपालका सचिवालय सदस्य राजुराज फुंयाल तथा अल सलाम सोसाइटीका अध्यक्ष मौलाना नजरुल हसन फलाहीले हस्ताक्षर गरेका छन्।


