CLI

साउन १५ को अवसरमा १ अर्बभन्दा बढीको दूध कारोबार

काठमाडौं । नेपाली समाजमा वर्षायामको थकान मेट्न र पोषिलो परिकारमार्फत ऊर्जा प्राप्त गर्न आज हर्षोल्लासका साथ ‘साउन १५’ अर्थात् खीर खाने दिन मनाइँदैछ। पहाडदेखि तराईसम्म र गाउँदेखि सहरसम्मका घरपरिवारमा आज दूध, चामल, घिउ र विभिन्न मरमसला मिसाएर बनाइएको स्वादिलो खीर पाकिरहेको छ।

सरकारले २०७७ सालदेखि यस दिनलाई ‘राष्ट्रिय खीर दिवस’ को रूपमा मान्यता दिएसँगै यसको सांस्कृतिक महत्त्व अझ बढेको छ। यस वर्ष खीरको परिकार, किसानको सम्मान, डेरी उद्योगको स्वाभिमान, नेपाली संस्कृतिको पहिचानु भन्ने नाराका साथ देशैभर विभिन्न रचनात्मक कार्यक्रमहरू आयोजना गरी यो दिवस मनाइँदैछ।

यस पर्वको आर्थिक पक्ष पनि उत्तिकै बलियो रहेको छ। नेपाल डेरी एशोसिएसनका अनुसार साउन १५ को अवसरमा आज मात्रै देशभर करिब १ करोड लिटर दूध खपत हुने र १ अर्ब रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अनुमान गरिएको छ। दूधको खपत अचानक बढ्दा गाउँका पशुपालक किसानहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।

सांस्कृतिक रूपमा यो दिनको विशेष महिमा छ। कृषकहरू धान रोपाइँ सकिएको खुसीयालीमा देवीदेवतालाई खीर चढाएर मात्र भोजन गर्छन् भने साउन महिना भगवान शिवको प्रिय महिना भएकाले मन्दिरहरूमा समेत खीर प्रसादको रूपमा वितरण गर्ने चलन रहेको छ। राजधानीलगायत विभिन्न स्थानका विद्यालय, क्याम्पस र कार्यालयहरूमा समेत सामूहिक रूपमा खीर खाने कार्यक्रम राखिएको छ।

स्वास्थ्यको दृष्टिकोणबाट पनि वर्षायाममा दूध र चामलबाट बनेको तातो खीर खानु निकै लाभदायक मानिन्छ। खीरमा हालिने ड्राइफ्रुट्सले शरीरलाई आवश्यक ऊर्जा दिनुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। समग्रमा, साउन १५ ले हाम्रो संस्कृत जगेर्ना गर्नुका साथै सुस्ताएको बजारलाई चलायमान बनाउँदै अर्थतन्त्रमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याएको छ।

Leave Your Comment

Related News