CLI

११ वर्षमा साढे ४ खर्बको वैदेशिक लगानी प्रतिवद्धता,१ खर्ब ३८ अर्ब मात्र भित्रियो

काठमाडौं । नेपालमा वैदेशिक प्रत्यक्ष लगानीको प्रतिबद्धता उच्च देखिए तापनि वास्तविक रूपमा भित्रिने लगानीमा भने निकै ठूलो अन्तर देखिँदै आएको छ। विगत ११ आर्थिक वर्ष (आव २०७२/७३ देखि चालू आव २०८२/८३ को जेठ मसान्तसम्म) को तथ्याङ्क हेर्दा नेपालले कुल ४ खर्ब ४८ अर्ब ४८ करोड रुपैयाँभन्दा बढीको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त गरेको छ, तर सोही अवधिमा वास्तविक रूपमा भित्रिएको लगानी भने १ खर्ब ३८ अर्ब ४६ करोड रुपैयाँ करिब ३०.५ प्रतिशत  मात्र सीमित रहेको छ।

तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७२/७३ मा  १५ अर्ब २५ करोड ४३ लाख  रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता भएकोमा ५ अर्ब ९२ करोड ९ लाख  रुपैयाँ मात्र भित्रिएको थियो। त्यस्तै, आव २०७३/७४ मा रु. १५ अर्ब २० करोड ६४ लाख प्रतिबद्धतामा रु. १३ अर्ब ५० करोड ३९ लाख र आव २०७४/७५ मा रु. ५५ अर्ब ७६ करोड  प्रतिबद्धता जनाएकोमा रु. १७ अर्ब ५० करोड ४६ लाख वैदेशिक लगानी भित्रिएको थियो। त्यसैगरी, आव २०७५/७६ मा रु. २५ अर्ब ४८ करोड ४४ लाख प्रतिबद्धता गर्दा रु. १३ अर्ब ६ करोड ५२ लाख, आव २०७६/७७ मा रु. ३७ अर्ब ८० करोड ५८ लाख प्रतिबद्धता आउँदा रु. १९ अर्ब ४७ करोड ८७ लाख र आव २०७७/७८ मा रु. ३२ अर्ब १७ करोड २८ लाख लगानी प्रतिबद्धता जनाएकोमा रु. १९ अर्ब ५१ करोड २७ लाख वैदेशिक लगानी भित्रिएको थियो।

आव २०७८/७९ मा रु. ५४ अर्ब १५ करोड ८९ लाख लगानी प्रतिबद्धता जनाउँदा रु. १९ अर्ब २१ करोड ९० लाख र आव २०७९/८० मा रु. ३० अर्ब ७१ करोड ९४ लाख प्रतिबद्धता आउँदा रु. ७ अर्ब ७६ करोड ८६ लाख मात्र भित्रियो। पछिल्ला वर्षहरूमा, आव २०८०/८१ मा हालसम्मकै उच्च रु. ६९ अर्ब ८३ करोड ३५ लाख प्रतिबद्धता आए पनि रु. १० अर्ब २९ करोड २५ लाख मात्र भित्रियो भने आव २०८१/८२ मा रु. ६४ अर्ब ४७ करोड ६६ लाख प्रतिबद्धता जनाउँदा रु. १२ अर्ब २० करोड भित्रिएको थियो। चालू आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म रु. ४७ अर्ब ६१ करोड ६९ लाख वैदेशिक लगानी प्रतिबद्धता आउँदा वैशाख मसान्तसम्म रु. १६ अर्ब ९६ करोड वास्तविक लगानी भित्रिएको छ।

प्रतिबद्धता अनुसार लगानी नआउनुमा मुख्यतया जटिल प्रशासनिक प्रक्रिया, कानुनी झन्झट र आयोजनाको सम्भाव्यता अध्ययन  गर्दा प्रतिफल  को अनिश्चितता देखिनु नै प्रमुख कारण रहेको छ। साथै, राजनीतिक तथा नीतिगत अस्थिरता, हालैका आन्दोलन तथा गतिविधिहरूले सिर्जना गरेको अशान्त वातावरण, व्यवसायीहरूमाथिको धरपकड र गैर-सिस्टमका गतिविधिहरूले लगानी सुरक्षामा प्रश्न उठाएका कारण विदेशी लगानीकर्ताहरू रकम भित्र्याउन हिचकिचाउने गरेका छन्। विज्ञहरूका अनुसार आम मानिसले नाफा नदेखिने ठाउँमा पैसा नलगाएजस्तै विदेशी लगानीकर्ताहरूले पनि सुरक्षित वातावरण र नाफाको सुनिश्चितता नभएसम्म प्रतिबद्धता जनाए तापनि रकम नभित्र्याउने  गरेका हुन्।

 

 

Leave Your Comment

Related News