काठमाडौं । नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपी ग्यासको अभाव नरहेको स्पष्ट गर्दै मागअनुसार नियमित आपूर्ति भइरहेको जनाएको छ। केही सञ्चारमाध्यममा ग्यास अभावको समाचार प्रकाशित भएपछि निगमले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै उपभोक्तालाई आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न आग्रह गरेको हो।
निगमका अनुसार १४.२ केजी क्षमताको एलपी ग्यास सिलिण्डर बिक्री–वितरणको व्यवस्था मिति २०८३ असार ३१ गतेको निर्णयअनुसार लागू भइसकेको छ। दैनिक मागअनुसार ग्यास आपूर्ति भइरहे पनि बजारमा अभाव भएको भन्ने गुनासो आएकाले ग्यास उद्योगीहरूलाई सहज आपूर्तिको व्यवस्था मिलाउन आग्रह गरिएको छ।
निगमले ग्यास विक्रेताहरूलाई घरायसी उपभोक्तालाई प्राथमिकतामा राखेर खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बरको अभिलेख राख्दै व्यवस्थित रूपमा बिक्री–वितरण गर्न निर्देशन दिएको छ।
काठमाडौं उपत्यकामा केही ग्यास उद्योगको ग्यासको माग उच्च रहेकाले शनिबारदेखि टेकुस्थित नेपाल आयल निगमको कार्यालयबाट पनि ग्यास बिक्री–वितरण सुरु गरिएको निगमले जनाएको छ। निगमका अनुसार नेपाल ग्यास, एचपी ग्यास, एभरेष्ट ग्यास, सुगम ग्यास र श्रीराम ग्यासका सिलिण्डर सम्बन्धित उद्योगमार्फत नै बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म बिक्री–वितरण गरिनेछ।
यस्तै, ग्यास प्राप्त गर्न समस्या परेमा कार्यालय समयभित्र निगमको हटलाइन नम्बर ०१–५९७१९०२ मा सम्पर्क गर्न पनि उपभोक्तालाई अनुरोध गरिएको छ।
निगमले एलपी ग्यासको आयात तथा बिक्री–वितरण नियमित रूपमा भइरहेको र आगामी दिनमा पनि निरन्तर रहने जनाएको छ। त्यसैले बजारमा कृत्रिम अभाव सिर्जना नहोस् भन्ने उद्देश्यले आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक सञ्चिति नगर्न उपभोक्तालाई आग्रह गरेको छ।


