सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले सामाजिक सञ्जाल फेसबुक लाइभमार्फत प्रसारण गरिएको भ्रामक अभिव्यक्ति असत्य रहेको स्पष्ट पारेको छ।
प्रहरीका अनुसार साउन १५ गते साँझ करिब ९:३० बजे सिरहा नगरपालिका–१२ सारस्वरका एक युवाले फेसबुक लाइभमार्फत “मेरो गाउँमा प्रवेश गरिसक्यो, सीडीओ/एसपीको फोन रिसिभ भएन” भन्ने आशयको अभिव्यक्ति प्रसारण गरेका थिए।
उक्त भिडियो सार्वजनिक भएपछि प्रहरी टोली तत्काल घटनास्थलमा पुगेर आवश्यक अनुगमन तथा निरीक्षण गरेको थियो। प्रहरीले सो क्षेत्रमा कुनै पनि प्रकारको अवाञ्छित गतिविधि वा सुरक्षा समस्या नभेटिएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालयले भिडियोमा व्यक्त गरिएको दाबीमा कुनै सत्यता नरहेको स्पष्ट गर्दै भिडियो पोस्ट गर्ने व्यक्तिले उक्त भिडियो हटाएर सार्वजनिक रूपमा माफी माग्दै नयाँ भिडियो पोस्ट गरेको जानकारी दिएको छ।
प्रहरीले अपुष्ट, झुटा तथा भ्रामक सूचना वा सामाजिक सद्भाव, शान्ति तथा सार्वजनिक सुव्यवस्थामा प्रतिकूल असर पर्ने सामग्री सामाजिक सञ्जालमार्फत प्रचार–प्रसार नगर्न तथा यस्ता गतिविधिको पछि नलाग्न सबैलाई अनुरोध गरेको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालले यस्ता भ्रामक सूचना फैलाउने कार्यले सामाजिक सद्भावमा असर पार्न सक्ने भएकाले जिम्मेवार ढंगले सामाजिक सञ्जाल प्रयोग गर्न आग्रह गरेका छन्।


