काठमाडौं । मानवअधिकार तथा शान्ति समाजले सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘सद्भाव एकता अभियान’ सुरु गरेको छ। अभियानको पहिलो चरणअन्तर्गत विभिन्न जिल्लामा एकता र्याली तथा नागरिक सहभागितामूलक कार्यक्रम सञ्चालन गर्न थालिएको समाजले जनाएको छ।
अभियानअन्तर्गत शनिबार बिहान शान्ति समाज सुर्खेत शाखाको आयोजनामा वीरेन्द्रनगरमा एकता र्याली सम्पन्न भएको छ। ‘हाम्रो जीवनधारा अहिंसा, शान्ति, सद्भाव, सहिष्णुता र भाइचारा, तोड्न होइन जोड्नका लागि योगदान गरौँ, संवाद, सहमति र सहकार्यको मार्ग अवलम्बन गरौँ’ भन्ने मूल नारासहित आयोजित कार्यक्रममा समाजका महासचिव प्रकाश शाहीलगायत सामाजिक अगुवाहरूले सामाजिक सद्भाव कायम राख्न सबै पक्षको भूमिका महत्वपूर्ण हुने बताएका थिए।
समाजले अभियानलाई निरन्तरता दिँदै साउन १८ गते सोमबार दिउँसो २ बजे काठमाडौंको माइतीघर मण्डलामा पनि सद्भाव प्रदर्शन गर्ने जनाएको छ। यसअघि पनि निर्वाचनअघि समाजले देशका दर्जनौँ जिल्लामा सद्भाव प्रवर्द्धन केन्द्रित नागरिक संवाद तथा प्रदर्शन आयोजना गरेको थियो।
यसैबीच, शान्ति समाज काठमाडौं शाखाको २९औँ साधारणसभाको उद्घाटन कार्यक्रममा समाजका संस्थापक सभापति कृष्ण पहाडीले समाज रूपान्तरणको प्रमुख आधार अहिंसा हुनुपर्नेमा जोड दिए। उनले विविधतालाई समस्याका रूपमा नभई उत्सवका रूपमा स्वीकार गर्दै संवाद र सहकार्यबाट सामाजिक एकता बलियो बनाउनुपर्ने धारणा व्यक्त गरे।
काठमाडौं शाखाका सभापति विकास थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गुरु घिमिरे, नेकपा (एमाले)का पूर्व सांसद डा. बिन्दा पाण्डे, राष्ट्रियसभा सदस्य मदनकुमारी शाह, बागमती प्रदेशसभा सदस्य छिरिङ दोर्जे लामा, गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसाल, उपमेयर सान्नानी लामालगायत विभिन्न राजनीतिक, सामाजिक तथा मानवअधिकार क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा ‘विधिको शासन, आधारभूत स्वतन्त्रता सहितको सुशासन’ विषयमा शान्ति समाजले तयार गरेको अवधारणा पत्र काठमाडौं शाखाका उपसभापति सार्जन चापागाईँले प्रस्तुत गरेका थिए।


