CLI
Global College

‘भर्सन नेक्स्ट’ आई–सोलुसन सार्वजनिक गर्दै सिटिजन लाइफले गर्‍यो ‘सिटिजन लिडर्स नाइट २०२६’

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ता, एजेन्सी म्यानेजर, शाखा र कर्मचारीलाई सम्मान गर्दै ‘सिटिजन लिडर्स नाइट २०२६’ सम्पन्न गरेको छ। कार्यक्रममार्फत कम्पनीले नयाँ आई–सोलुसन प्रणाली ‘भर्सन नेक्स्ट’ सार्वजनिक गर्दै सेवा प्रवाहलाई थप डिजिटल, छरितो र ग्राहकमैत्री बनाउने घोषणा गरेको छ।

साउन १६ गते काठमाडौंको ग्वार्कोस्थित रोयल टुलिप होटलमा आयोजित कार्यक्रममा देशभरबाट एक हजारभन्दा बढी सिटिजन लिडर, कर्मचारी तथा विशिष्ट अतिथिको सहभागिता रहेको कम्पनीले जनाएको छ।

कार्यक्रमको औपचारिक उद्घाटन कम्पनीको नयाँ आई–सोलुसन प्रणाली ‘भर्सन नेक्स्ट’ सार्वजनिक गर्दै गरिएको थियो। कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डे, सञ्चालक समिति तथा व्यवस्थापन टोलीले संयुक्त रूपमा प्रणाली शुभारम्भ गरेका हुन्।

कम्पनीका अनुसार आधुनिक प्रविधिमा आधारित ‘भर्सन नेक्स्ट’ प्रणालीले बीमा सेवा प्रवाहलाई अझ प्रभावकारी, सुरक्षित, छरितो र ग्राहकमैत्री बनाउनेछ। कम्पनीले यसलाई डिजिटल रूपान्तरण अभियानको महत्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गरेको छ।

कार्यक्रममा आधुनिक प्रविधिको प्रयोगलाई विशेष प्राथमिकता दिइएको थियो। ह्युमानोइड रोबोट र रोबोटिक डगको प्रस्तुति मुख्य आकर्षण बनेको कम्पनीले जनाएको छ। ह्युमानोइड रोबोटले प्रेरणादायी तथा सूचनामूलक प्रस्तुति दिँदा सहभागीहरूको ध्यान आकर्षित भएको थियो।

हास्य कलाकार सुन्दर खनालले मनोरञ्जनात्मक प्रस्तुति दिएका थिए। कम्पनीका ब्रान्ड एम्बेसडर हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको विशेष उपस्थितिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

कार्यक्रममा अध्यक्ष प्रदीपजंग पाण्डे, सञ्चालक महेश स्वर, प्रमुख कार्यकारी अधिकृत (सीईओ) पोषक राज पौडेल तथा प्रमुख बजार अधिकृत (सीएमओ) भूषण रिमालले कम्पनीको भावी रणनीति, नेतृत्व विकास, बीमा व्यवसायको सम्भावना तथा उत्कृष्ट कार्यसम्पादनलाई निरन्तरता दिनुपर्ने विषयमा धारणा राखेका थिए।

उनीहरूले सिटिजन लाइफलाई अझ सुदृढ, दिगो र परिणाममुखी संस्थाका रूपमा अघि बढाउन सम्पूर्ण अभिकर्ता तथा कर्मचारीको सक्रिय भूमिका आवश्यक रहेको बताएका थिए।

कार्यक्रमका क्रममा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने ७८० जना सिटिजन लिडर, एजेन्सी म्यानेजर, अभिकर्ता तथा शाखालाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।

बीमा शुल्क संकलनका आधारमा बुटवल शाखा देशकै उत्कृष्ट शाखा घोषित भयो। भेषराज भट्टराई उत्कृष्ट स्टार एजेन्सी म्यानेजर घोषित भए भने नितेश श्रेष्ठ बीमा शुल्क संकलनका आधारमा उत्कृष्ट ‘सिटिजन लिडर’ बने।

यस्तै, सर्वाधिक बीमालेख जारी गर्ने अभिकर्ताका रूपमा गीता पौडेल प्रथम भइन् भने सर्वाधिक अभिकर्ता भर्ती गर्ने विधामा दिलबहादुर धामी उत्कृष्ट घोषित भए।

कार्यक्रममा सांगीतिक तथा नृत्य प्रस्तुतिसमेत समावेश गरिएको थियो। सम्मान, प्रविधि, प्रेरणा र मनोरञ्जनको संयोजन रहेको कार्यक्रमबाट सहभागीहरूले सकारात्मक प्रतिक्रिया दिएको कम्पनीले जनाएको छ।

कम्पनीले यस्ता सम्मान कार्यक्रममार्फत उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ता तथा नेतृत्वकर्तालाई थप उत्प्रेरित गर्दै बीमा सेवाको पहुँच विस्तार, गुणस्तरीय सेवा प्रवाह तथा संस्थागत उत्कृष्टतालाई निरन्तर अघि बढाउने प्रतिबद्धता जनाएको छ।

Leave Your Comment

Related News