CLI

सिटिजन लाइफको ‘सिटिजन लिडर्स नाइट २०२६’ सम्पन्न, ७८० उत्कृष्ट सिटिजन लिडर र अभिकर्ता सम्मानित

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको ‘सिटिजन लिडर्स नाइट २०२६’ कार्यक्रम सम्पन्न भएको छ । आफ्ना उत्कृष्ट सिटिजन लिडर, अभिकर्ता तथा शाखाहरूको सम्मानस्वरूप आयोजना गरेको उक्त कार्यक्रम काठमाडौंको ग्वार्कोस्थित रोयल टुलिप होटलमा सम्पन्न भएको हो ।

एक हजारभन्दा बढी सहभागीको उपस्थितिमा सम्पन्न कार्यक्रममा कम्पनीले आफ्नो नयाँ आई–सोलुसन प्रणाली ‘भर्सन नेक्स्ट’को औपचारिक शुभारम्भ पनि गरेको छ । कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डे, सञ्चालक समिति तथा व्यवस्थापन टोलीले संयुक्त रूपमा प्रणालीको उद्घाटन गर्दै डिजिटल रूपान्तरणतर्फ कम्पनीको नयाँ यात्राको सुरुआत भएको बताएका छन् । आधुनिक प्रविधिमा आधारित उक्त प्रणालीले सेवा प्रवाहलाई अझ छरितो, सुरक्षित र ग्राहकमैत्री बनाउने कम्पनीको विश्वास छ ।

कार्यक्रमको अर्को आकर्षण ह्युमानोइड रोबोट र रोबोटिक डगको प्रस्तुति रह्यो । ह्युमानोइड रोबोटले हास्यरस मिश्रित प्रेरणादायी सम्बोधन प्रस्तुत गरेको थियो ।

हास्य कलाकार सुन्दर खनालको प्रस्तुति तथा कम्पनीका ब्रान्ड एम्बेसडर हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको विशेष उपस्थितिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो ।

कार्यक्रममा अध्यक्ष प्रदीपजंग पाण्डे, सञ्चालक महेश स्वर, प्रमुख कार्यकारी अधिकृत (सीईओ) पोषकराज पौडेल तथा प्रमुख बजार अधिकृत (सीएमओ) भूषण रिमालले सम्बोधन गर्दै कम्पनीको भावी रणनीति, नेतृत्व विकास तथा उत्कृष्ट कार्यसम्पादनलाई निरन्तरता दिन सबैलाई प्रेरित गरेका थिए ।

यस अवसरमा विभिन्न विधामा उत्कृष्ट उपलब्धि हासिल गर्ने ७८० जना सिटिजन लिडर, एजेन्सी म्यानेजर, अभिकर्ता तथा शाखाहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।

सम्मानितमध्ये बुटवल शाखा प्रथम बीमा शुल्क संकलनतर्फ देशकै उत्कृष्ट शाखा घोषित भएको छ । भेषराज भट्टराई उत्कृष्ट स्टार एजेन्सी म्यानेजर, नितेश श्रेष्ठ उत्कृष्ट सिटिजन लिडर, गीता पौडेल सर्वाधिक बीमालेख जारी गर्ने अभिकर्ता तथा दिलबहादुर धामी सर्वाधिक अभिकर्ता भर्ती गर्ने व्यक्तिका रूपमा सम्मानित भएका छन् ।

सांगीतिक तथा नृत्य प्रस्तुतिसहित सम्पन्न कार्यक्रममा सम्मान, प्रविधि र मनोरञ्जनको संयोजन रहेको कम्पनीले जनाएको छ ।

सिटिजन लाइफले यस्ता कार्यक्रममार्फत उत्कृष्ट कार्यसम्पादन गर्ने सिटिजन लिडरहरूलाई थप प्रेरित गर्दै बीमा सेवाको पहुँच विस्तार, गुणस्तरीय सेवा प्रवाह तथा संस्थागत उत्कृष्टतालाई निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

Leave Your Comment

Related News