काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानका ९ वटा प्रमुख सडकखण्ड अवरुद्ध भएका छन्। नेपाल प्रहरीको प्रधान कार्यालयका अनुसार साेमबार ५ बजेसम्म काभ्रेपलाञ्चोक, सिन्धुली, मकवानपुर, इलाम, सिन्धुपाल्चोक, दोलखा, रसुवा, ललितपुर, ताप्लेजुङ, लमजुङ लगायतका जिल्लाका सडकखण्ड प्रभावित भएका हुन्।
नेपाल प्रहरीका अनुसार काभ्रेपलाञ्चोक–सिन्धुली खण्डको बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमका कारण साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने सवारी सञ्चालन हुने जनाइएको छ।
मकवानपुरको कान्तिलोकपथमा पनि वर्षाका कारण रातिको समयमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । प्रहरीका अनुसार इलामको मेची राजमार्ग, सिन्धुपाल्चोकको अरनिको राजमार्ग, दोलखाको लामाबगर–रामेछाप सडकखण्ड, रसुवाको पासाङ ल्हामु राजमार्ग, ललितपुरको कान्तिलोकपथ, ताप्लेजुङको मेची राजमार्ग तथा लमजुङको बेँसीसहर–मनाङ सडकखण्ड पहिरो, सडक कटान तथा हिलोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्।
दोलखाको लामासाँघु–रामेछाप सडकखण्डमा भने खिम्ती ग्रामीण विद्युत् सहकारी संस्थाको कार्यालय परिसर हुँदै वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ। नेपाल प्रहरीले वर्षाका कारण सडकको अवस्था परिवर्तन भइरहने भएकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट पछिल्लो सडक अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।


