काठमाडौं । प्रभु बैंक लिमिटेडले पछिल्ला केही सञ्चारमाध्यममा बैंक, सञ्चालक, पदाधिकारी तथा व्यवस्थापनसँग सम्बन्धित विषयमा प्रकाशित समाचारहरूलाई भ्रामक, एकपक्षीय तथा आधारहीन भन्दै गम्भीर आपत्ति जनाएको छ। बैंकले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत यस्ता समाचारले संस्थागत प्रतिष्ठा, सार्वजनिक विश्वास तथा वित्तीय प्रणालीप्रति अनावश्यक भ्रम सिर्जना गरेको जनाएको हो।
बैंकले कुनै पनि आधिकारिक प्रमाण वा तथ्यबिना प्रकाशित तथा प्रसारित सामग्री पत्रकारिताको मर्म, व्यावसायिक आचारसंहिता र जिम्मेवार सञ्चार अभ्यासअनुकूल नभएको उल्लेख गर्दै यस्ता समाचारको पूर्ण रूपमा खण्डन गरेको छ।
प्रभु बैंकका अनुसार कर्मचारी सरुवा, कार्य जिम्मेवारीमा हेरफेर, आन्तरिक व्यवस्थापन, कर्जा असुली प्रक्रिया तथा धितो लिलामी सूचना प्रकाशनजस्ता गतिविधि बैंकिङ व्यवसायका नियमित, कानुनसम्मत तथा संस्थागत अभ्यास हुन्। यस्ता प्रक्रियालाई वास्तविकताभन्दा फरक ढंगले प्रस्तुत गर्नु उचित नहुने बैंकको भनाइ छ।
बैंकले विगतमा केही कर्जा फाइलसम्बन्धी विषयमा नियामक निकायबाट अनुसन्धान भएको र केही मुद्दा अदालतमा विचाराधीन रहे पनि आफूले नेपाल राष्ट्र बैंकको निर्देशन तथा प्रचलित कानुनको पूर्ण पालना गर्दै जोखिम व्यवस्थापन, आन्तरिक नियन्त्रण र सुधारात्मक उपायहरू प्रभावकारी रूपमा कार्यान्वयन गरिरहेको जनाएको छ। भविष्यमा यस्ता कमजोरी दोहोरिन नदिन थप सुदृढ प्रणाली लागू गरिएको पनि बैंकले स्पष्ट पारेको छ।
सञ्चालक समिति तथा व्यवस्थापनबाट हुने सबै निर्णयहरू सम्बन्धित कानुन, नेपाल राष्ट्र बैंकको निर्देशन र नियामकीय मापदण्डअनुसार नै हुने उल्लेख गर्दै बैंकले आगामी दिनमा पनि सुशासन र पारदर्शिताप्रति प्रतिबद्ध रहने जनाएको छ।
प्रभु बैंकले सञ्चारमाध्यमलाई समाचार प्रकाशन तथा प्रसारणअघि सम्बन्धित पक्षबाट तथ्य पुष्टि गर्न आग्रह गर्दै अनुमान, अपुष्ट स्रोत वा एकपक्षीय सूचनाका आधारमा समाचार सम्प्रेषण गर्दा संस्थाको प्रतिष्ठा, सार्वजनिक विश्वास र समग्र वित्तीय प्रणालीमा नकारात्मक असर पर्न सक्ने चेतावनी दिएको छ।
बैंकले आफ्ना निक्षेपकर्ता, कर्जाग्राही, शेयरधनी, ग्राहक तथा सम्पूर्ण सरोकारवालालाई बैंकसम्बन्धी जानकारीका लागि बैंकबाट जारी गरिएका आधिकारिक सूचना र विश्वसनीय स्रोतलाई मात्र आधार बनाउन अनुरोध गरेको छ। साथै, संविधानले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रताको सम्मान गर्दै सत्य, निष्पक्ष र तथ्यमा आधारित पत्रकारितालाई निरन्तर समर्थन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।


