काठमाडौं । एनएमबी बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकले नाफा, ब्याज आम्दानी र व्यवसाय विस्तारमा उल्लेख्य सुधार गरेको छ।
बैंकले गत आर्थिक वर्षमा खुद नाफा ४०.६० प्रतिशतले बढाएर ४ अर्ब १ करोड ३७ लाख रुपैयाँ पुर्याएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब ८५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १७.५२ प्रतिशतले बढेर ८ अर्ब २ करोड रुपैयाँबाट ९ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, डिजिटल बैंकिङको विस्तारसँगै बैंकको शुल्क तथा कमिसन आम्दानी १६.६ प्रतिशतले वृद्धि भई २ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ। ट्रेजरी तथा विदेशी मुद्रा विनिमय कारोबारमा भएको वृद्धिका कारण खुद ट्रेडिङ आम्दानीमा ८९ प्रतिशतको उल्लेख्य सुधार भई ६८ करोड १४ लाख रुपैयाँ पुगेको छ। सञ्चालन नाफा पनि २९.०६ प्रतिशतले वृद्धि भएर ६ अर्ब ११ करोड रुपैयाँ पुगेको छ; अघिल्लो आवमा उक्त नाफा ४ अर्ब ७३ करोड ९९ लाख रुपैयाँ थियो।
गत आवमा बैंकले ३४ अर्ब रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ। अघिल्लो आर्थिक वर्षमा २ खर्ब ८० अर्ब ९२ करोड रुपैयाँ रहेको निक्षेप बढेर ३ खर्ब १५ अर्ब १२ करोड रुपैयाँ पुगेको छ। यस्तै, ग्राहकलाई प्रवाह गरिएको कर्जा २ खर्ब २८ अर्ब ४५ करोड रुपैयाँबाट बढेर २ खर्ब ४९ अर्ब० करोड रुपैयाँ पुगेको छ भने कुल सम्पत्ति ३ खर्ब ५१ अर्ब ५९ करोड रुपैयाँबाट बढेर ३ खर्ब ९७ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ।
समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ८७ करोड रुपैयाँ र प्रतिसाधारण सेयर वितरणयोग्य नाफा ९.०८ प्रतिशत रहेको छ। त्यस्तै, इक्विटीमा प्रतिफल ११.५८ प्रतिशत र सम्पत्तिमा प्रतिफल १.०४ प्रतिशतमा उक्लिएको छ। बैंकको चुक्ता पुँजी २२ अर्ब २८ करोड ५० लाख रुपैयाँ रहेको छ भने जगेडा कोष १५ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ। आफ्ना सेयरधनी तथा ग्राहकहरूलाई उच्च प्रतिफल र गुणस्तरीय सेवा दिन दिगो विकास र डिजिटल सेवा विस्तारमा निरन्तर लागिपर्ने बैंकले जनाएको छ।


