CLI

ग्यास अभाव केही दिनमै हट्ने, अनावश्यक सञ्चय नगर्न आग्रह

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पछिल्ला केही दिनदेखि बजारमा देखिएको खाना पकाउने एलपी ग्यासको अभाव केही दिनभित्रै समाधान हुने जनाएको छ। मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै ग्यासको पर्याप्त आयात भइरहेको भए पनि पूरा सिलिन्डर वितरण सुरु भएपछि माग एक्कासि बढ्दा आपूर्ति व्यवस्थापनमा असहजता देखिएको स्पष्ट पारेको हो।

मन्त्रालयका अनुसार अघिल्ला वर्षको यही अवधिको तुलनामा नियमित माग धान्न सक्ने परिमाणमा ग्यास आयात र वितरण भइरहेको छ। बढ्दो माग र आपूर्तिबीच सन्तुलन कायम गर्न मन्त्रालयले सरोकारवालासँग समन्वय गर्दै आपूर्ति तथा वितरण प्रणालीलाई थप प्रभावकारी बनाउने काम अघि बढाएको जनाएको छ।

पर्याप्त ग्यास आयात सुनिश्चित गर्न नेपाल आयल निगममार्फत कूटनीतिक पहललाई निरन्तरता दिइएको छ। साथै, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्र बनाएको छ। नेपाल आयल निगम र ग्यास उद्योगीसँगको समन्वयमा ग्यास आयात, भण्डारण तथा वितरण प्रणालीलाई पारदर्शी र अनुमानयोग्य बनाउने सुधारका कार्य पनि सुरु गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले उपभोक्तालाई अफवाह वा भ्रमपूर्ण सूचनाको पछि नलाग्न तथा आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न आग्रह गरेको छ। अनावश्यक सञ्चय नगर्न अनुरोध गर्दै हाल देखिएको वितरणको असहजता केही दिनमै पूर्ण रूपमा समाधान हुने विश्वास व्यक्त गरेको छ।

त्यसैगरी, वैकल्पिक सिलिन्डर नभएका सर्वसाधारण उपभोक्तालाई प्राथमिकताका आधारमा ग्यास उपलब्ध गराउन नेपाल आयल निगम, ग्यास विक्रेता तथा डिलरलाई निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने, कानुनी व्यवस्था उल्लङ्घन गर्ने वा उपभोक्तालाई अनावश्यक दुःख दिने व्यक्ति वा संस्थामाथि प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी समेत दिएको छ।

मन्त्रालयले एलपी ग्यासको आपूर्ति तथा वितरण सहज बनाउन निजी क्षेत्र, उपभोक्ता अधिकारकर्मी, सञ्चारमाध्यम, जनप्रतिनिधि, सरकारी निकाय तथा आम उपभोक्ताको निरन्तर सहयोगको अपेक्षा गरेको छ।

Leave Your Comment

Related News