CLI

अमेरिका -इरान युद्धले तेल कम्पनीहरुको नाफामा उछाल, विश्वकै सबैभन्दा ठूलो तेल कम्पनी साउदी अरामकोले  कमायो ३३ अर्ब नाफा

काठमाडौं । अमेरिका र इरान युद्धको फाइदा विश्वका पेट्रोलियम पदार्थ बिक्री वितरण गर्ने कम्पनीलाई पुगेको छ ।

विश्वकै सबैभन्दा ठूलो तेल कम्पनी साउदी अरामकोले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार दोस्रो त्रैमासिकमा कम्पनीको नाफा ३३ प्रतिशतले बढेर ३३.४ अर्ब अमेरिकी डलर पुगेको छ। गत वर्षको सोही अवधिमा कम्पनीको नाफा २५.२ अर्ब डलर थियो।

अरामको मात्र होइन, अन्य प्रमुख तेल कम्पनीहरूले पनि उच्च नाफा सार्वजनिक गरेका छन्। अमेरिका–इरान द्वन्द्वका कारण हर्मुज जलडमरूमध्य हुँदै हुने तेल ढुवानीमा उल्लेखनीय अवरोध आएको छ, जसले क्षेत्रबाट इन्धन निर्यात गर्न कठिन बनाएको छ।

अमेरिकी तेल कम्पनी एक्सनमोबिलले शुक्रबार दोस्रो त्रैमासिक नाफा दोब्बरभन्दा बढी बढेर १४.५ अर्ब अमेरिकी डलर पुगेको जनाएको थियो। यो सन् २०२५ को सोही अवधिको तुलनामा उल्लेखनीय वृद्धि हो।

त्यस्तै शेभरोनले १२.१ अर्ब डलर नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा चार गुणाभन्दा बढी हो।

बेलायती ऊर्जा कम्पनी शेलले पनि गत साता करिब १० अर्ब अमेरिकी डलर त्रैमासिक नाफा सार्वजनिक गरेको थियो, जुन कम्पनीको इतिहासकै दोस्रो उच्च त्रैमासिक नाफा हो।

युद्ध सुरु भएयता अमेरिकामा पेट्रोलको औसत मूल्य प्रतिग्यालन ३७ प्रतिशतले बढेको छ। बढ्दो जीवनयापन खर्चसँग जुधिरहेका अमेरिकी उपभोक्ताका लागि यो थप बोझ बनेको छ। नोभेम्बरको निर्वाचनअघि राजनीतिक उपलब्धि खोजिरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि यो चुनौतीपूर्ण अवस्था मानिएको छ। राष्ट्रपति  ट्रम्पले  तेल कम्पनीहरू धेरै पैसा कमाइरहेका  यसबाट खुसी नभएको प्रतिक्रिया दिएका छन् ।

युद्ध र ऊर्जा मूल्य वृद्धिको पुरानै चक्र

विश्लेषकहरूका अनुसार विश्व बजारमा आपूर्ति घट्नेबित्तिकै ऊर्जा मूल्य तीव्र रूपमा बढ्ने र तेल कम्पनीहरूको नाफा चुलिने प्रवृत्ति नयाँ होइन।

सन् २०२२ मा रुसले युक्रेनमाथि पूर्ण आक्रमण गरेपछि तत्कालीन अमेरिकी राष्ट्रपति जो बाइडेनले ऊर्जा कम्पनीहरूले “युद्धबाट अनुचित नाफा कमाएको” भन्दै आलोचना गरेका थिए। उनले ती कम्पनीमाथि अतिरिक्त ‘विन्डफल ट्याक्स’ (अतिरिक्त नाफा कर) लगाउने प्रस्तावसमेत अघि सारेका थिए।

अमेरिका–इरान युद्ध सुरु हुनुअघि अन्तर्राष्ट्रिय मापदण्ड ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ७० अमेरिकी डलरभन्दा कम थियो। युद्धपछि मूल्य १०० डलरभन्दा माथि पुगेको थियो। त्यसपछि केही घटे पनि शान्ति वार्तासम्बन्धी सकारात्मक वा नकारात्मक समाचारसँगै मूल्यमा उतारचढाव जारी छ। मंगलबार बिहान (अमेरिकी समय) ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल करिब ८० डलरमा कारोबार भइरहेको थियो, जुन युद्धअघिको तुलनामा करिब १४ प्रतिशत बढी हो।

उच्च नाफा सधैं टिक्ने छैन

रिस्टाड एनर्जीका अपस्ट्रिम अनुसन्धान उपाध्यक्ष राहुल चौधरीका अनुसार अरामकोको पछिल्लो नाफा कम्पनीले डिजेलजस्ता उच्च मूल्यका पेट्रोलियम उत्पादनको निर्यात बढाएकाले पनि वृद्धि भएको हो।

तर उनले यस्तो उच्च आम्दानी दीर्घकालसम्म कायम नरहने बताए। “अरामकोको पछिल्लो नतिजा मुख्यतः कम्पनीले मौज्दातमा रहेको तेल बिक्री गरेकाले आएको हो। अहिले ती भण्डार घटिरहेका छन्,”चौधरीले भने ।

उनका अनुसार तेलको मूल्य अझै अस्थिर छ। अमेरिका र इरानबीच युद्धविराममा सहमति भए पनि त्यो पछि भंग भएकाले बजारमा अनिश्चितता कायमै रहेको छ।

डोनाल्ड ट्रम्प द्धाराअसन्तुष्टि व्यक्त

राष्ट्रपति डोनाल्ड ट्रम्पले तेल कम्पनीहरूले अत्यधिक नाफा कमाइरहेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। सोमबार ह्वाइट हाउसको ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै उनले तेल कम्पनीहरूको बढ्दो आम्दानीप्रति असन्तोष जनाएका हुन्।

“उनीहरूले धेरै पैसा कमाइरहेका छन्। मलाई यो मन परेको छैन। म स्वतन्त्र बजार व्यवस्थाको समर्थक हुँ, त्यसैले यस्तो कुरा गर्ने अन्तिम व्यक्ति म नै हुनुपर्थ्यो,” ट्रम्पले भने।

आगामी तीन महिनापछि हुने मध्यावधि निर्वाचनअघि ऊर्जा मूल्य घट्नु ट्रम्पका लागि राजनीतिक रूपमा महत्त्वपूर्ण मानिएको छ। हालका जनमत सर्वेक्षणहरूले डेमोक्र्याटिक पार्टीले कंग्रेसमा उल्लेखनीय सफलता हासिल गर्न सक्ने संकेत गरेका छन्। तर इरानसँगको युद्धका कारण अन्तर्राष्ट्रिय तेल मूल्य बढ्दा त्यसको असर अमेरिकी उपभोक्तामाथि पनि परेको छ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा

Leave Your Comment

Related News