काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको ५ अर्ब २२ करोड २ लाख रुपैयाँबाट प्रतिशतले बढेर ६ अर्ब २२ करोड ७१ लाख रुपैयाँ पुगेको छ।
असुलीमा सुधार र सञ्चालन आम्दानीमा भएको वृद्धिका कारण बैंकको खुद नाफा, लाभांश क्षमता र कुल सम्पत्तिको आकारमा वृद्धि देखिएको छ।
बैंकको सञ्चालन आम्दानी २१ अर्ब ८० करोड ३९ लाख रुपैयाँ पुगेको छ, अघिल्लो आवमा उक्त आम्दानी २१ अर्ब २४ करोड ९० लाख रुपैयाँ थियो। सञ्चालन नाफा अघिल्लो आर्थिक वर्षको ७ अर्ब २३ करोड ३१ लाख रुपैयाँबाट २०.०३ प्रतिशतले बढेर ८ अर्ब ६८ करोड २१ लाख रुपैयाँ पुगेको छ।
कर्जा नोक्सानी व्यवस्था (इम्पेयरमेन्ट चार्ज) पनि घटेको छ। आर्थिक वर्ष २०८१/८२ मा ५ अर्ब ९७ करोड ६५ लाख ९६ हजार रुपैयाँ रहेकोमा घटेर ४ अर्ब ७८ करोड रुपैयाँमा झरेको छ।
बैंकको खुद ब्याज आम्दानी भने घटेको छ। अघिल्लो आर्थिक वर्षको २७ अर्ब २५ करोड रुपैयाँबाट घटेर २४ अर्ब ९ करोड ९४ लाख रुपैयाँ पुगेको छ।
बैंकको निष्क्रिय कर्जा अनुपात अघिल्लो वर्षको ४.८६ प्रतिशतबाट बढेर ४.९६ प्रतिशत पुगेको छ। नाफामा सुधार भए पनि खराब कर्जा बढ्नु बैंकका लागि चुनौतीको विषय बनेको छ।
गत आवमा बैंकको निक्षेप ६ अर्ब ६९ करोड १७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आवमा निक्षेप ५ अर्ब ५० करोड ६२ लाख रुपैयाँ थियो। यस्तै, ग्राहकलाई प्रवाह गरेको कर्जा ४ खर्ब १० अर्ब १० करोड रुपैयाँबाट बढेर ४ खर्ब ३९ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ।
बैंकको चुक्ता पूँजी ३६ अर्ब ११ करोड ५८ लाख रुपैयाँ कायम रहेको छ। सञ्चित नाफा र अन्य जगेडा कोष गरी बैंकको कुल इक्विटी ६९ अर्ब ८० करोड ६२ लाख रुपैयाँ पुगेको छ। कुल सम्पत्ति पनि ६ खर्ब ८८ अर्ब ८ करोड रुपैयाँबाट बढेर ८ खर्ब २० अर्ब ७७ करोड रुपैयाँ पुगेको छ।
ग्लोबल आइएमई बैंकको वितरणयोग्य नाफामा पनि सुधार भएको छ। बैंकको वितरणयोग्य मुनाफा अघिल्लो आर्थिक वर्षको ४ अर्ब ५ करोड रुपैयाँबाट बढेर ४ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ।
यससँगै बैंकको लाभांश क्षमता १०.६४ प्रतिशतबाट बढेर १२.०२ प्रतिशत पुगेको छ। यसले आगामी दिनमा शेयरधनीलाई दिने प्रतिफल क्षमतामा सुधार आएको संकेत गरेको छ।
समीक्षा अवधिसम्म बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) १६.३४ रुपैयाँ कायम भएको छ। त्यस्तै, प्रतिशेयर कुल सम्पत्तिको मूल्य २ हजार १५३.३६ रुपैयाँ, मूल्य आम्दानी अनुपात (पीई रेसियो) १४.६७ गुणा र तरलता अनुपात ४४.४८ प्रतिशत रहेको छ।



