नेपालमा विद्युतीय सवारी साधनको बढ्दो आकर्षणलाई सम्बोधन गर्दै आगामी २०८३ साउन २६ देखि ३१ गते (सन् २०२६ अगस्ट ११ देखि १६) सम्म काठमाडौँमा आयोजना हुने ‘नाइमा अटो शो २०२६’ मा दुई ठूला सवारी वितरकहरूले आफ्ना नयाँ मोडलहरू सार्वजनिक गर्ने भएका छन्; जसअन्तर्गत एडभान्स अटोमोबाइल्स प्राइभेट लिमिटेड ले चिनियाँ अटोमोबाइल क्षेत्रका दुई प्रतिष्ठित ब्रान्ड हङछी र लिंक्सिस का नयाँ विद्युतीय मोडलहरू औपचारिक रूपमा प्रदर्शनीमा ल्याउनेछ भने नेपालका लागि एमजी गाडीको आधिकारिक वितरक पारामौन्ट मोटर्स प्रालि ले प्रदर्शनी हलको हल ५, स्टल नम्बर एल-२ बाट इन्धन र बिजुली दुवैबाट चल्ने हाइब्रिड एसयुभी ‘एमजी एचएस पिएचइभी’ र नयाँ विद्युतीय पिकअप ‘एमजी यु९’ सार्वजनिक गरी अवलोकनकर्ताहरूलाई नेपालमै पहिलोपटक यी प्रतिक्षित मोडलहरूको प्रत्यक्ष अनुभव गराउने भएको छ।
एमजी एचएस पिएचइभी
‘एमजी एचएस पिएचइभी’ इन्धन र बिजुली दुवैबाट चल्ने अत्याधुनिक हाइब्रिड एसयुभी हो। यसमा १.५ लिटरको टर्बोचार्ज्ड इन्जिनका साथै शक्तिशाली विद्युतीय मोटर र ब्याट्री प्याक जडान गरिएको छ, जसले गर्दा गाडीले उत्कृष्ट शक्ति र टर्क प्रदान गर्छ। केवल बिजुलीबाट मात्रै पनि दैनिक यात्रा गर्न सकिने र लामो दूरीका लागि इन्धन प्रयोग गर्न सकिने भएकाले नेपाली बाटोका लागि यो निकै व्यावहारिक मानिएको छ। यसमा १०.२५ इन्चको स्पर्श-पर्दा (टचस्क्रिन) सूचना तथा मनोरञ्जन प्रणाली, १२.३ इन्चको डिजिटल चालक प्रदर्शन पर्दा (ड्राइभर डिस्प्ले), ३६० डिग्री क्यामेरा, लेभल-२ को उन्नत चालक सहयोग सुरक्षा प्रविधि र आरामदायी छालाका सिटहरू रहेका छन्।
एमजी यु९ पिकअप
नेपाली बजारमा पहिलोपटक भित्रिन लागेको ‘एमजी यु९’ एक आकर्षक, शक्तिशाली र बहुउपयोगी विद्युतीय पिकअप हो। कठिन उकालो-ओरालो, कच्ची बाटो र ठूलो तौलको सामान ओसारपसार (भार क्षमता) गर्न सक्ने गरी यसको निर्माण गरिएको छ। चारै पाङ्ग्राबाट जोर लाग्ने (अल-ह्विल ड्राइभ) सुविधा, उच्च भुइँ-उचाइ (ग्राउन्ड क्लियरेन्स) र बलियो बनावटका कारण यो व्यावसायिक कामका साथै साहसिक यात्राका शौखिनहरूका लागि उपयुक्त छ। यसमा उच्च क्षमताको ब्याट्री र द्रुत (फास्ट) चार्जिङ सुविधा दिइएको छ, जसले गर्दा लामो दूरीको यात्रा सहज हुन्छ।
छ दिनसम्म चल्ने अटो शो अवधिभर पारामौन्ट मोटर्सले ग्राहकहरूका लागि विशेष छुट, आकर्षक किस्ताबन्दी सुविधा, पुराना गाडीसँग साट्ने (सटही/एक्सचेन्ज) सुविधा र विशेष बुकिङ सुविधाहरू उपलब्ध गराउनेछ।

हङछी र लिंक्सिसका नयाँ विद्युतीय सवारी साधन
नेपालमा विद्युतीय सवारी साधनको बढ्दो आकर्षणलाई सम्बोधन गर्न एडभान्स अटोमोबाइल्स प्राइभेट लिमिटेडले चिनियाँ अटोमोबाइल क्षेत्रका दुई प्रतिष्ठित ब्रान्ड हङछी र लिंक्सिसका नयाँ विद्युतीय मोडलहरू ‘नाइमा अटो शो २०२६’ मा औपचारिक रूपमा सार्वजनिक गर्ने भएको छ।
होंग्ची फर्स्ट अटोमोबाइल वर्क्स (एफएडब्ल्यू ग्रप) अन्र्तगत सञ्चालन छ। होंग्चीको अर्थ चिनियाँ भाषामा रातो झण्डा (रेड फ्ल्याग) हो। यसले सुरुवाती चरणमा चीनका राष्ट्रपति, उच्च सरकारी अधिकारी र राज्यका अतिथिका लागि मात्र गाडी उत्पादन गथ्र्यो। पछिल्ला वर्षहरुमा सर्वसाधारणका लागि पनि लक्जरी कार र ईभी उत्पादन विस्तार गरेको छ।
उच्चस्तरीय इन्टेरियर र प्रमियम सामग्री, आधुनिक सुरक्षा तथा एडीएएस प्रविधि, पेट्रोल, हाइब्रिड, ईभी मोडलहरु, आरामदायी र प्रशस्त केबिन, उन्नत सुरक्षा प्रविधि, लक्जरी डिजाइन र आराम यसका प्रमुख विशेषता हुन्।
होंगचीको ई–एचएस९ २०२६ मेमा सिंगापुरमा लन्च गरिएको थियो। त्यसपछि थाइल्यान्ड र हंगकंगमा पनि लन्च भइरहेको छ। यसको मूल्य करिब ९० हजार अमेरिकी डलर छ। १२० किलोवाट आवरको निकेल म्यागनिज कोबाल्ट एनएमसी ब्याट्री प्याकमा उपलब्ध कारले ५४८ किलोमिटर डब्ल्यूएलटीपी रेन्ज प्रदान गर्ने दाबी गरिएको छ।

अर्कातर्फ, सन् १९२८ को औद्योगिक विरासत बोकेको गुआङ्सी अटोमोबाइल समूह (वुलिङ न्यू इनर्जी) ले सन् २०२३ मा स्थापना गरेको लिंक्सिसले अटो शोको स्टल नम्बर एल-४ बाट विशेष गरी व्यावसायिक तथा व्यापारिक प्रयोजनका लागि ९ देखि १४ सिट क्षमताका यात्रुवाहक भ्यान र सामान ओसार्ने ढुवानी (कार्गो) विद्युतीय भ्यानहरू सार्वजनिक गर्दै छ। विश्वप्रसिद्ध सुरक्षित ब्याट्री प्रविधि जडान गरिएका, २५० देखि ३०० किलोमिटरसम्मको यात्रा दूरी (रेन्ज) दिने र परम्परागत इन्धन भ्यानको तुलनामा ८० प्रतिशतसम्म सञ्चालन खर्च घटाउने अनुमान छ ।


