काठमाडौं । कृषि विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको नाफामा गिरावट आएको छ। बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको ३ अर्ब ७३ करोड २४ लाख रुपैयाँबाट घटेर गत आर्थिक वर्षमा २ अर्ब ६३ करोड ६ लाख रुपैयाँमा खुम्चिएको छ।
बैंकले असार मसान्तसम्म ९ अर्ब १२ करोड १५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३.४५ प्रतिशतले कम हो। अघिल्लो आर्थिक वर्षमा बैंकले ९ अर्ब ४४ करोड ७४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।
यसैगरी, बैंकको सञ्चालन नाफा घटेर ३ अर्ब ९४ करोड ३५ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा ५ अर्ब २१ करोड ८ लाख रुपैयाँ रहेको थियो। बैंकको कर्जा नोक्सानी व्यवस्था (इम्पेयरमेन्ट चार्ज) अघिल्लो वर्ष ६३ करोड ७ लाख रुपैयाँ रहेकोमा गत आर्थिक वर्षमा बढेर १ अर्ब ७१ करोड ६० लाख रुपैयाँ पुगेको छ।
सञ्चालन नाफा र खुद ब्याज आम्दानी घटे पनि बैंकको निक्षेप सङ्कलन र कर्जा प्रवाह भने बढेको छ। बैंकको निक्षेप गत आर्थिक वर्षको तुलनामा १८.३६ प्रतिशतले बढेर ६ अर्ब ४७ करोड ११ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षमा २ अर्ब ९३ करोड ३५ लाख रुपैयाँ थियो। यस्तै, ग्राहकलाई प्रवाह गरेको कर्जा २ खर्ब १२ अर्ब ६१ करोड रुपैयाँबाट बढेर २ खर्ब ४७ अर्ब १४ करोड रुपैयाँ पुगेको छ।
बैंकको कुल चुक्ता पुँजी १९ अर्ब ७३ करोड ८२ लाख रुपैयाँ रहेको छ, जसमध्ये साधारण सेयर पुँजी १४ अर्ब ३० करोड रुपैयाँ र अग्रधिकार सेयर पुँजी ५ अर्ब ४३ करोड रुपैयाँ रहेको छ। जगेडा कोष तथा सञ्चित नाफा गरी बैंकको कुल इक्विटी ३८ अर्ब ९० करोड रुपैयाँ पुगेको छ।
त्यस्तै, बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ८१ करोड रुपैयाँबाट घटेर १ अर्ब २६ करोड रुपैयाँमा सीमित बनेको छ। खुद नाफा र वितरणयोग्य मुनाफामा आएको गिरावटका कारण बैंकको लाभांश क्षमता पनि १७.९८ प्रतिशतबाट झरेर ६.५४ प्रतिशतमा सीमित भएको छ।



