काठमाडौं । कृत्रिम बौद्धिकता (एआई ) क्षेत्रमा प्रतिस्पर्धी कम्पनीहरूको तुलनामा केही पछि परेको मानिएको मेटाले आफ्नो उपस्थितिलाई बलियो बनाउन नयाँ कदम चालेको छ। यसै साता कम्पनीले ठूलो सफ्टवेयर कोडबेसमा जटिल कार्य गर्न सहयोग गर्ने प्रोग्रामर लक्षित नयाँ टर्मिनल-आधारित एआई कोडिङ एजेन्ट ‘म्युज कोड (Muse Code)’ सार्वजनिक गरेको हो।
हाल बिटा संस्करणमा उपलब्ध ‘म्युज कोड’ ले “ठूला कोड रिपोजिटोरीहरूमा पूर्ण सफ्टवेयर इन्जिनियरिङसम्बन्धी कार्यहरू” गर्न सक्ने मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले बुधबार सामाजिक सञ्जालमार्फत बताएका छन्। उनका अनुसार यसले परिवर्तनको योजना बनाउने, कोड लेख्ने र त्यसको नतिजा परीक्षण तथा प्रमाणीकरण गर्ने काम गर्न सक्छ।
एकै आदेश मार्फत स्थापना गर्न सकिने यो प्रणाली मेटाले यसअघि सार्वजनिक गरेको ‘म्युज स्पार्क (Muse Spark)’ नामक कोडिङ मोडलमा आधारित छ। ठूलो परियोजनामा काम गर्दा यसले आफ्नै एआई एजेन्टहरू सिर्जना गरी समानान्तर रूपमा काम गराउँछ।
मार्क जुकरबर्गका अनुसार, “काम धेरै ठूलो भएमा यसले छुट्टाछुट्टै सब-एजेन्टहरूलाई अलग-अलग वर्कट्रीमा समानान्तर रूपमा काम गर्न लगाउँछ। यसले प्रयोगकर्ताको मूल कार्य फाइल (Working Copy) लाई छोँदैन। परीक्षणका क्रममा यसले कुनै द्वन्द्व (Collision) नआउने गरी एउटै खेलका छवटा फिचर एकैपटक विकास गरेको थियो।”
मेटाको यो कदम एआई क्षेत्रमा ओपनएआईको कोडेक्स (Codex) र एन्थ्रोपिक (Anthropic) को क्लाउड कोड (Claude Code) जस्ता प्रतिस्पर्धी कोडिङ एजेन्टसँग प्रतिस्पर्धा गर्ने प्रयासका रूपमा हेरिएको छ।
मेटाले पछिल्लो समय एआई क्षेत्रमा आफ्नो प्रभाव विस्तार गर्न ठूलो लगानी गरिरहेको छ। गत जुनमा कम्पनीले विज्ञापन व्यवसायमा एआई प्रयोग गर्ने आफ्नो परम्परागत रणनीतिभन्दा अघि बढ्दै ग्राहक सेवा तथा सहयोगका लागि उद्यम (Enterprise) लक्षित एआई एजेन्ट सार्वजनिक गर्दै इन्टरप्राइज एआई बजारमा पनि प्रवेश गरेको थियो।


