काठमाडौं । देशका प्रमुख तथा मझौला नदीमा पानीको बहाव सतर्कता तहभन्दा तल रहे पनि विभिन्न जिल्लाका स–साना नदी तथा खोलामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले शनिबार बिहान जारी गरेको बाढी पूर्वानुमान बुलेटिनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली र महाकाली नदी तथा तिनका सहायक नदीहरूमा जलसतह सामान्य अवस्थामा रहेको छ। कन्काई, कमला, बबई, पूर्वी राप्ती तथा पश्चिम राप्ती नदीमा पनि बहाव सतर्कता तहभन्दा तल रहेको महाशाखाले जनाएको छ।
तर ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक हुँदै बहने स–साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्न सक्ने सम्भावना रहेको छ।
त्यसैगरी गोरखा, लमजुङ, बागलुङ, तनहुँ, म्याग्दी, कास्की, सल्यान, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट र बझाङ आसपासका साना नदीमा पनि आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ।
महाशाखाले नदी तथा खोलाको तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ। विशेषगरी साना नदी तथा खोलामा पानीको सतह अचानक बढ्न सक्ने भएकाले नदी किनारमा नजान र जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन अनुरोध गरिएको छ।
महाशाखाका अनुसार भोलि र पर्सिसमेत कोशी र गण्डकी प्रदेश भएर बहने केही स–साना नदीमा बहाव अचानक बढ्न सक्ने सम्भावना छ।
आगामी केही दिन साना नदी तथा खोलाका किनारमा विशेष सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभाग र बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेका छन्।



