काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि कामदार छनोट गर्दा विज्ञापनमा तोकिएको अवधिभित्र आवेदन दिने सबै आवेदकलाई छनोट प्रक्रियामा समावेश गर्न इजाजतपत्रवाला संस्थालाई निर्देशन दिएको छ।
विभागले वैदेशिक रोजगार ऐन, २०६४ तथा वैदेशिक रोजगार नियमावली, २०६४ मा भएको व्यवस्थाअनुसार वैदेशिक रोजगारीका लागि कामदार छनोटसम्बन्धी प्रक्रिया पारदर्शी र व्यवस्थित बनाउन यस्तो निर्देशन दिएको हो।
कानुनी व्यवस्थाअनुसार वैदेशिक रोजगारीमा कामदार पठाउन पूर्वस्वीकृति प्राप्त भएपछि इजाजतपत्रवाला संस्थाले कम्तीमा ७ दिनको अवधि दिएर नेपाली भाषाको राष्ट्रियस्तरको दैनिक पत्रिका तथा आफ्नो वेबसाइटमा विज्ञापन प्रकाशन गर्नुपर्ने व्यवस्था छ। उक्त विज्ञापनका आधारमा इच्छुक व्यक्तिले आवेदन दिन पाउने र आवेदनमध्येबाट कामको प्रकृति, योग्यता, अनुभवलगायतका आधारमा कामदार छनोट गर्नुपर्ने व्यवस्था रहेको विभागले जनाएको छ।
तर पछिल्लो समय विज्ञापनमा ७ दिनको समय तोकिए पनि आवेदन दिन जाँदा कोटा सकिएको भन्दै अधिकांश इजाजतपत्रवाला संस्थाले इच्छुक व्यक्तिलाई आवेदन नै नलिई फर्काउने गरेको गुनासो विभागमा प्राप्त भएको जनाएको छ।
गुनासोपछि विभागले अब इजाजतपत्रवाला संस्था (म्यानपावर) ले कामदार छनोटका लागि विज्ञापन गर्दा तोकिएको ७ दिनको अवधिभित्र आवेदन दिन आउने सबै व्यक्तिको निवेदन अनिवार्य रूपमा दर्ता गर्नुपर्ने व्यवस्था गर्न निर्देशन दिएको छ।
साथै, ७ दिनको अवधि पूरा भएपछि मात्र सबै आवेदकको एकमुष्ट सूची सम्बन्धित संस्थाको वेबसाइटमा प्रकाशन गरी त्यसपछि छनोट प्रक्रिया सुरु गर्नुपर्ने विभागले जनाएको छ। छनोट प्रक्रियामा विज्ञापनअनुसार आवेदन दिने सबैलाई समावेश गर्नुपर्ने र छनोट सम्पन्न भएपछि छनोटमा नपरेका व्यक्तिलाई छनोट हुन नसकेको कारणसहित जानकारी दिनुपर्ने व्यवस्था अनिवार्य रूपमा कार्यान्वयन गर्न विभागले निर्देशन दिएको छ।
विभागले वैदेशिक रोजगारीको कामदार छनोट प्रक्रियालाई निष्पक्ष, पारदर्शी र प्रतिस्पर्धात्मक बनाउन उक्त व्यवस्था कडाइका साथ पालना गर्न सम्बन्धित सबै इजाजतपत्रवाला संस्थालाई सूचित गरेको छ।


