नेपालगन्ज। नेपालगन्जमा बजार अनुगमनका क्रममा ग्यास लुकाएको आरोपमा एक किराना पसललाई रु ५० हजार जरिवाना गरिएको छ ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो ।
अनुगमनका क्रममा पसलमा लुकाएर राखिएका १३ वटा ग्यास सिलिन्डर भेटिएको थियो । उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार पसललाई रु ५० हजार जरिवाना गरिएको हो । पसलबाट अखाद्य सामग्रीसमेत फेला परेको अनुगमन टोलीले जनाएको छ ।
बजारमा खाना पकाउने ग्यासलगायत उपभोग्य सामग्रीको अभाव र अनियमितताको गुनासो बढेपछि स्थानीय प्रशासनले केही दिनयता बजार अनुगमनलाई तीव्रता दिएको छ ।


