काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारतको भूमि नेपालले मिचेको भन्ने अभिव्यक्तिको विरोध गर्दै विपक्षी दलका सांसदहरूले प्रतिनिधिसभा बैठकमा विरोध गरेका छन्।
सिंहदरबारस्थित संसद् भवनमा सोमबार सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु गर्नेबित्तिकै नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका हुन्।
गत जेठ १७ गते प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री शाहले भारतको भूमि नेपालले मिचेको आशयको जवाफ दिएपछि विपक्षी दलहरूले निरन्तर संसद्मा विरोध गर्दै आएका छन्।
विपक्षी सांसदहरूले प्रधानमन्त्री शाहले उक्त अभिव्यक्तिबारे संसद्मा स्पष्टीकरण दिनुपर्ने तथा अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउनुपर्ने माग गर्दै आएका छन्।
तर, हालसम्म प्रधानमन्त्री शाहले उक्त विषयमा स्पष्टीकरण दिएका छैनन्। त्यस्तै, सभामुख अर्यालले पनि उक्त अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन संसद् सचिवालयलाई निर्देशन दिएका छैनन्।
यसै विषयलाई लिएर विपक्षी दलहरूले सोमबारको बैठकमा समेत विरोध जनाएका हुन्।


