काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा बुधबार स्वदेश फर्किदै छन् । देउवा थाइल्याण्डबाट थाई एयरको विमानमार्फत बिहीबार मध्यान्ह १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको छ।
गत फागुन १३ गते नेपालबाट स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गरेका देउवा त्यहाँको उपचार सकिएपछि चैत ७ गते थप उपचारका लागि हङकङ पुगेका थिए । देउवा हङकङबाट थाइल्याण्ड पुग्ने र थाइल्याण्डबाटै नेपाल फर्कने कार्यक्रम तय भएको नेपाली काँग्रेसले जनाएको छ ।
गत भदौ २४ गते ‘जेनजी’ आन्दोलनका क्रममा आन्दोलनकारीले देउवा दम्पतीमाथि बूढानीलकण्ठस्थित उनीहरूकै निवासमा मरणासन्न हुने गरी कुटपिट गरेका थिए । त्यसपछि सैनिक अस्पताल छाउनीमा लामो उपचार गरेका देउवा दम्पती थप उपचारका लागि सिंगापुर गएका थिए ।
स्वास्थ्य उपचारपश्चात् बिहीबार स्वदेश फर्कन लागेका कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवालाई स्वागत गर्न पार्टीका शीर्ष नेताहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्ने भएका छन् ।
कांग्रेसको संस्थापन इतर (निवर्तमान सभापति देउवा र डा. शेखर कोइराला) समूहले साउन २९ गतेदेखि काठमाडौँमा आयोजना गर्न लागेको राष्ट्रिय भेला तयारी समितिका संयोजक डा. शशांक कोइरालाको नेतृत्वमा विमानस्थलमा देउवालाई स्वागत गर्न शीर्ष नेताहरू पुग्ने कांग्रेसका एक नेताले जानकारी दिए । स्वदेश फर्किए लगत्तै देउवा पार्टीको आन्तरिक गतिविधिमा सक्रिय हुने नेताहरूले बताएका छन् ।



