काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) को आयोजनामा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को दोस्रो संस्करण भृकुटीमण्डपमा सुरु भएको छ।
एक्स्पोको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नाइमाकी अध्यक्ष ऋतु सिंह वैद्यले नेपालको अटोमोबाइल क्षेत्रलाई मर्यादित, व्यावसायिक र जिम्मेवार बनाउन संस्था प्रतिबद्ध रहेको बताइन्।
उनका अनुसार एक वर्षअघि २१ सदस्य कम्पनीबाट सुरु भएको नाइमामा हाल ३६ कम्पनी आबद्ध भइसकेका छन्। उनले सदस्य कम्पनीको संख्या बढ्नुले अटोमोबाइल उद्योगको साझा उद्देश्यप्रतिको विश्वासलाई प्रतिबिम्बित गर्ने बताइन्।
अध्यक्ष वैद्यले यातायातलाई केवल विलासिताको वस्तु वा सरकारी राजस्व संकलनको माध्यमका रूपमा मात्र हेर्न नहुनेमा जोड दिइन्। नेपाल स्वच्छ र दिगो यातायातको भविष्यतर्फ अघि बढिरहेको भन्दै उनले सरकारको हरित अर्थतन्त्रको लक्ष्यलाई नाइमाले पूर्ण समर्थन गर्ने बताइन्।
विद्युतीय सवारी साधनसँगै हाइब्रिड तथा अन्य उदीयमान प्रविधिका सवारीको वर्गीकरण, कर प्रणाली र परीक्षणसम्बन्धी व्यवस्थामा स्पष्टता आवश्यक रहेको उनले बताइन्। यसका लागि सरकार र निजी क्षेत्रबीच प्राविधिक बुझाइमा एकरूपता हुनुपर्ने उनको भनाइ छ।
निजी क्षेत्रले स्थिर र पूर्वानुमानयोग्य नीतिको अपेक्षा गरिरहेको बताउँदै वैद्यले बारम्बार परिवर्तन हुने नीति र अस्पष्ट व्याख्याले लगानीकर्तामा अन्योल सिर्जना गर्ने उल्लेख गरिन्।
नेपालमा सवारी साधन एसेम्बली तथा सहायक उद्योगको प्रवर्द्धनका लागि दीर्घकालीन रणनीतिक खाका आवश्यक रहेको उनले बताइन्। ब्याट्री रिसाइक्लिङ नीति, इथानोल ब्लेन्डिङको सम्भाव्यता तथा अत्याधुनिक सवारी परीक्षण केन्द्र स्थापनाका लागि सरकारसँग सहकार्य गर्न नाइमा तयार रहेको पनि उनले जानकारी दिइन्।
छ दिनसम्म सञ्चालन हुने एक्स्पोमा ५५ वटा ब्रान्डका सवारी साधन प्रदर्शनीमा राखिएका छन्। एक्स्पोमा ४० वटा नयाँ मोडेल सार्वजनिक गर्ने कार्यक्रमसमेत रहेको आयोजकले जनाएको छ।
प्रदर्शनीसँगै आयोजना हुने ‘मोबिलिटी संवाद’मा वैदेशिक लगानी, कृत्रिम बौद्धिकता (एआई) को प्रयोग, ब्याट्री रिसाइक्लिङ र उद्यमशीलतालगायतका विषयमा विज्ञहरूबीच छलफल हुनेछ।
उद्घाटन कार्यक्रममा अध्यक्ष वैद्यले यातायात नागरिकको शिक्षा, स्वास्थ्य, रोजगारी तथा बजारसँगको पहुँच जोड्ने आधारभूत आवश्यकता भएको बताउँदै ‘मोबिलिटी फर अल’ अर्थात् सबैका लागि सहज यातायातलाई मुख्य लक्ष्य बनाउनुपर्ने धारणा राखिन्।



