CLI

जिम्बाब्वेको करिबा तालमा डुंगा दुर्घटना, १५ जनाको मृत्यु

काठमाडौं । जिम्बाब्वेको करिबा तालमा क्षमताभन्दा बढी यात्रु बोकेको डुंगा पल्टिँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने २७ जना अझै बेपत्ता छन्। दुर्घटनापछि ठूलो उद्धार तथा खोजी अभियान सञ्चालन गरिएको छ।

जिम्बाब्वेको राष्ट्रिय विपद् व्यवस्थापन निकायका अनुसार दुर्घटनामा ७७ जनालाई जीवितै उद्धार गरी तालभित्र रहेको एउटा टापुमा पुर्‍याइएको छ। जिम्बाब्वेको सिभिल प्रोटेक्सन युनिटका अनुसार टिकट बिक्रीको अभिलेखमा डुंगामा ११४ जना वयस्क यात्रु र पाँच जना चालक दलका सदस्य रहेको देखिएको छ। डुंगाको क्षमता भने ९० जनाको मात्रै थियो। टिकटमा तोकिएको उमेरभन्दा कम उमेरका बालबालिकाको संख्या भने अभिलेखमा नसमेटिएको हुन सक्ने अधिकारीहरूले बताएका छन्।

स्थानीय सांसद मुत्सा मुरोम्बेडजीले सार्वजनिक गरेको भिडियोमा यात्रुहरू डुंगाबाट यात्रा सुरु गर्नुअघि किनारमा मानिसहरूले बिदाइ गरिरहेको देखिन्छ। स्थानीय ग्रामीण क्षेत्रका बासिन्दाले करिबा सहर पुग्न तालमार्ग प्रयोग गर्ने गरेको उनले बताएका छन्। दुर्घटनाअघि तालमा तीव्र छाल देखिएको र डुंगा सुरक्षित रूपमा यात्रा गर्न सक्नेमा किनारमा रहेका केही मानिसले चिन्ता व्यक्त गरेको भिडियोमा देखिन्छ।

जिम्बाब्वेको सरकारी प्रसारक जेडबीसीले सार्वजनिक गरेको अर्को भिडियोमा स्पिडबोटहरू तालमा पल्टिएको डुंगातर्फ गइरहेको र उद्धार कार्यमा हेलिकोप्टरसमेत परिचालन गरिएको देखाइएको छ। जिम्बाब्वे प्रहरीले पनि उद्धार अभियान जारी रहेको जनाएको छ।

दक्षिणी अफ्रिकामा रहेको करिबा ताल जिम्बाब्वे र छिमेकी जाम्बियाको सीमामा फैलिएको छ। पानीको आयतनका आधारमा यो विश्वकै सबैभन्दा ठूलो मानव निर्मित तालमध्ये एक हो। सन् १९५० को दशकको अन्त्यदेखि १९६० को दशकको सुरुवातसम्म जाम्बेजी नदीमा बाँध निर्माण गरेपछि त्यस क्षेत्रमा पानी जम्मा भएर विशाल करिबा ताल बनेको हो।

Leave Your Comment

Related News