काठमाडौं । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले नेपालका वाणिज्य बैंकहरुको विगत पाँच आर्थिक वर्ष अर्थात् आर्थिक वर्ष २०७८/७९ देखि २०८२/८३ सम्मको क्रेडिट रेटिङ परिवर्तनसम्बन्धी विस्तृत प्रतिवेदन सार्वजनिक गरेको छ। समग्र अर्थतन्त्रमा देखिएको सुस्तता, निष्क्रिय कर्जा मा भएको वृद्धि र असुलीमा परेको चापका कारण अधिकांश बैंकहरुको साख प्रभावित भएको प्रतिवेदनले देखाएको छ। ५ वर्षको तथ्याङ्क अनुसार सीमित बैंकहरुले मात्र उच्च साख जोगाएका छन् भने धेरैजसोको रेटिङ स्थिर वा खस्किँदो क्रममा रहेको छ।
सर्वोच्च साख र उच्च सुरक्षा कायम राख्दै विदेशी लगानी रहेको स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले लगातार पाँचै वर्ष शीर्ष स्थानको ‘IR AAA’ रेटिङ जोगाउन सफल भएको छ। यस्तै, नेपाल एसबीआई बैंकले पनि आफ्नो वित्तीय मजबुती दर्साउने ‘IR AA’ रेटिङ निरन्तर कायम राखेको छ। एभरेस्ट बैंकले आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ मा ‘IR AA-‘ पाएको भए पनि आव २०८२/८३ मा भने यसको रेटिङ प्रक्रिया फिर्ता भएको छ।
मध्यम-उच्च साख (‘ए’ श्रेणी) तर्फ नबिल बैंकको साख आव २०७८/७९ को ‘IR AA-‘ बाट घटेर आव २०८२/८३ मा ‘IR A’ मा झरेको छ। नेपाल बैंक लिमिटेडले निरन्तर ‘IR A’ रेटिङ कायम राख्दा ग्लोबल आइएमई बैंक र नेपाल इन्भेस्टमेन्ट मेगा बैंक दुवैको रेटिङ ‘IR A-‘ कायम भएको छ। कृषि विकास बैंकको रेटिङ भने आव २०८२/८३ मा ‘IR A+’ पुगेर फिर्ता लिइएको छ।
कर्जाको गुणस्तरमा आएको ह्रासका कारण ‘BBB’ र ‘BB’ श्रेणीमा रहेका बैंकहरुको साखमा उच्च दबाब देखिएको छ। सिटिजन्स बैंक आव २०८२/८३ मा खस्किएर ‘IR BBB’ मा झरेको छ भने कुमारी बैंक र प्रभु बैंकको साखमा निरन्तर गिरावट आउँदा दुवै बैंक आव २०८२/८३ मा ‘IR BB+’ प्रभुको हक ‘IR BB+@’ मा सीमित भएका छन्। यसैगरी, सिद्धार्थ बैंक ‘IR BBB+’, माछापुच्छ्रे बैंक ‘IR BBB+@’ र लक्ष्मी सनराइज बैंक ‘IR BBB@’ मा झरेका छन्।
अर्कोतर्फ, केही बैंकहरुले इक्रा नेपालमार्फत गराउँदै आएको रेटिङ प्रक्रिया बीचैमा फिर्ता गराएका छन्। एनआईसी एसिया बैंकले आव २०८०/८१ देखि र सनिमा बैंकले आव २०८२/८३ मा आइपुगेर रेटिङ फिर्ता लिएका हुन्। इक्रा नेपालका अनुसार रेटिङको पछाडि राखिएको ‘@’ (Watch with Negative Implications) सङ्केतले सम्बन्धित बैंकको कर्जा असुली तथा वित्तीय अवस्थामा जोखिम बाँकी नै रहेकाले आगामी दिनमा रेटिङ थप घट्न सक्ने सम्भावनालाई जनाउँछ।



