काठमाडौं । कुमारी बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार समीक्षा अवधिमा बैंकको खुद नाफा २९३ प्रतिशतले बढेको छ।
बैंकको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षमा बैंकले रु. ७ अर्ब ३८ करोड ७२ लाख खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद नाफा रु. १ अर्ब ८७ करोड ९७ लाख मात्र थियो। यस आधारमा एक वर्षको अवधिमा बैंकको नाफामा उल्लेख्य सुधार देखिएको हो।
खुद ब्याज आम्दानीमा भएको वृद्धि र कर्जा नोक्सानी व्यवस्था (इम्पेरमेन्ट चार्ज) फिर्ता (Reverse) भएका कारण बैंकको नाफा उल्लेख्य बढ्न पुगेको हो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.४७ प्रतिशतले बढेर रु. १२ अर्ब १ करोड ३० लाख पुगेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी रु. ११ अर्ब ६२ करोड १५ लाख थियो।
त्यसैगरी, बैंकको सञ्चालन आम्दानी रु. १६ अर्ब ३५ करोड ८४ लाख पुगेको छ, जुन अघिल्लो आवमा रु. १५ अर्ब १९ करोड ४० लाख थियो। सञ्चालन नाफा अघिल्लो आर्थिक वर्षको रु. ५ अर्ब ५८ करोड ७१ लाखबाट १०१ प्रतिशतले बढेर रु. ११ अर्ब २३ करोड ५५ लाख पुगेको छ।
बैंकिङ क्षेत्रमा देखिएको सुधारसँगै कर्जा नोक्सानी व्यवस्थापनमा परेको दबाब पनि घटेको छ। अघिल्लो आर्थिक वर्षमा रु. ३ अर्ब ४५ करोड १४ लाख रहेको इम्पेरमेन्ट चार्ज समीक्षा वर्षमा घटेर रु. १ अर्ब ४३ करोड ९९ लाख ऋणात्मक (Reverse) भएको छ।
तथापि, बैंकको निष्क्रिय कर्जा (NPL) अनुपात भने अघिल्लो वर्षको ६.९५ प्रतिशतबाट बढेर ७.४६ प्रतिशत पुगेको छ। नाफामा उत्साहजनक सुधार भए तापनि खराब कर्जामा भएको वृद्धि बैंकका लागि व्यवस्थापकीय चुनौतीको विषय बनेको छ।
गत आवमा बैंकको निक्षेप सङ्कलन रु. ४ खर्ब २ अर्ब ७३ करोड ६२ लाख पुगेको छ, जुन अघिल्लो आवमा रु. ३ खर्ब ६४ अर्ब ६३ करोड ९१ लाख थियो। यस्तै, ग्राहकलाई प्रवाह गरिएको कर्जा रु. २ खर्ब ६० अर्ब ३२ करोड २३ लाखबाट बढेर रु. २ खर्ब ७० अर्ब ९२ करोड पुगेको छ।
हाल बैंकको चुक्ता पूँजी रु. २६ अर्ब २२ करोड ५८ लाख कायम रहेको छ। सञ्चित नाफा र अन्य जगेडा कोष गरी बैंकको कुल इक्विटी रु. ४४ अर्ब ७९ करोड ४० लाख पुगेको छ।
यसैगरी, कुमारी बैंकको वितरणयोग्य मुनाफामा पनि ठूलो सुधार भएको छ। अघिल्लो आर्थिक वर्षमा रु. ३ अर्ब ८४ करोड ऋणात्मक रहेको वितरणयोग्य नाफा समीक्षा वर्षमा बढेर रु. ७९ करोड १६ लाख पुगेको छ। यससँगै बैंकको लाभांश क्षमता ३.०२ प्रतिशत कायम भएको छ, जसले आगामी दिनमा शेयरधनीलाई प्रतिफल दिन सक्ने क्षमतामा सुधार आएको संकेत गर्दछ।
समीक्षा अवधिसम्म बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) रु. २८.१७ कायम भएको छ भने प्रतिशेयर शुद्ध सम्पत्ति (Networth) रु. १७०.८० पैसा र मूल्य–आम्दानी अनुपात (P/E Ratio) ७.४५ रहेको छ।


