CLI
Global College

नेपाल एसबीआई बैंकको खुद नाफा १२.८९ प्रतिशतले बढ्यो

काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार समीक्षा अवधिमा बैंकको खुद नाफा १२.८९ प्रतिशतले बढेको छ।

बैंकको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षमा बैंकले रु. २ अर्ब ४ करोड ४३ लाख खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद नाफा रु. १ अर्ब ८१ करोड ९६ लाख मात्र थियो। यस आधारमा एक वर्षको अवधिमा बैंकको नाफामा सन्तोषजनक सुधार देखिएको हो।

कर्जा नोक्सानी व्यवस्था (इम्पेरमेन्ट चार्ज) मा आएको कमीका कारण बैंकको नाफा बढ्न पुगेको हो। बैंकिङ क्षेत्रमा देखिएको क्रमिक सुधारसँगै कर्जा नोक्सानी व्यवस्थापनमा परेको दबाब घटेको छ। अघिल्लो आर्थिक वर्षमा रु. १ अर्ब ३ करोड ५१ लाख रहेको इम्पेरमेन्ट चार्ज समीक्षा वर्षमा ८.७७ प्रतिशतले घटेर रु. ९४ करोड १० लाखमा झरेको छ।

त्यसैगरी, समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी रु. ७ अर्ब १५ करोड ७८ लाख पुगेको छ, जुन अघिल्लो आवमा रु. ६ अर्ब ८० करोड ३५ लाख थियो। बैंकको खुद ब्याज आम्दानी भने १.३० प्रतिशतले बढेर रु. ५ अर्ब ३३ करोड ४३ लाख पुगेको छ। यस्तै, सञ्चालन नाफा अघिल्लो आर्थिक वर्षको रु. २ अर्ब ७४ करोड ५२ लाखबाट ६.२२ प्रतिशतले बढेर रु. २ अर्ब ९१ करोड ६१ लाख पुगेको छ।

गत आवमा बैंकको निक्षेप सङ्कलन ६.६२ प्रतिशतले बढेर रु. २ खर्ब १२ अर्ब ८२ करोड ६४ लाख पुगेको छ, जुन अघिल्लो आवमा रु. १ खर्ब ९९ अर्ब ६० करोड ३४ लाख थियो। यस्तै, ग्राहकलाई प्रवाह गरिएको कर्जा ८.२३ प्रतिशतले बढेर रु. १ खर्ब ३४ अर्ब ९६ करोड ३७ लाखबाट रु. १ खर्ब ४६ अर्ब ७ करोड ७७ लाख पुगेको छ।

समीक्षा वर्षमा बैंकको निष्क्रिय कर्जा (NPL) अनुपात अघिल्लो वर्षको ३.३५ प्रतिशतबाट घटेर २.९२ प्रतिशतमा झरेको छ। हाल बैंकको चुक्ता पूँजी रु. ११ अर्ब ३३ करोड ५१ लाख कायम रहेको छ। सञ्चित नाफा र अन्य जगेडा कोष गरी बैंकको कुल इक्विटी रु. २२ अर्ब ७ करोड २८ लाख पुगेको छ।

यसैगरी, नेपाल एसबीआई बैंकको वितरणयोग्य मुनाफामा पनि सुधार भएको छ। बैंकको वितरणयोग्य नाफा अघिल्लो आर्थिक वर्षको रु. १ अर्ब १९ करोड ७१ लाखबाट बढेर रु. १ अर्ब २५ करोड १६ लाख पुगेको छ। यससँगै बैंकको लाभांश क्षमता १०.९८ प्रतिशतबाट बढेर ११.०४ प्रतिशत कायम भएको छ, जसले शेयरधनीलाई दिने प्रतिफल क्षमतामा सुधार आएको संकेत गर्दछ।

समीक्षा अवधिसम्म बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) रु. १८.०४ रुपैयाँ कायम भएको छ। सो अवधिसम्ममा बैंकको प्रतिशेयर शुद्ध सम्पत्ति  रु. १९४.७३ पैसा रहेको छ भने मूल्य-आम्दानी अनुपात  २१.७८ गुणा रहेको छ।

Leave Your Comment

Related News