CLI

वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउको विरोधमा भत्सर्ना, अविलम्ब रिहाइ गर्न विभिन्न पत्रकार संङहरुको माग

काठमाडौं । जनआस्था साप्ताहिक तथा जनआस्था डटकमका प्रधान सम्पादक एवं वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले उनलाई ललितपुरस्थित निवासबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार जनआस्था डटकममा प्रकाशित एक समाचार सामग्रीलाई लिएर एक युवतीले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको हो। उनीमाथि ‘वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५’ विपरीतको कसुर गरेको आरोप लगाइएको छ । प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गराई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जनाएको छ ।

समाचार प्रकाशनको विषयलाई लिएर पत्रकारलाई सोझै पक्राउ गरिएको भन्दै सञ्चार सम्बद्ध सङ्घसंस्था, पत्रकारजन्य सङ्गठन तथा राजनीतिक दलका नेताहरूले कडा आपत्ति जनाएका छन्। सञ्चारकर्मी तथा विभिन्न प्रेस सङ्गठनहरूले समाचारमा चित्त नबुझेमा वा पेसागत आचारसंहिता उल्लङ्घन भएको खण्डमा प्रेस काउन्सिल नेपालमार्फत कानुनी उपचार खोज्ने बाटो हुँदाहुँदै प्रहरी लगाएर पक्राउ गरिनु प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथिको सीधा हस्तक्षेप भएको बताएका छन्।

नेकपा एमालेका महासचिव शंकर पोखरेल लगायतका नेताहरूले समाचार लेखेकै आधारमा पत्रकारलाई धरपकड गर्नु गैरकानुनी र निरङ्कुश शैली भएको भन्दै पत्रकार श्रेष्ठलाई अविलम्ब र स–सम्मान रिहा गर्न सरकारसँग माग गरेका छन्। नेपाल पत्रकार महासंघ, प्रेस युनियन, समाजवादी प्रेस संगठन, प्रेस चौतारी लगायतका विभिन्न सञ्चार सम्बद्ध संस्थाहरूले पत्रकार श्रेष्ठको पक्राउको भत्सर्ना गर्दै बिनासर्त रिहाइको माग गरेका छन्।

Leave Your Comment

Related News