CLI

करिब साढे पाँच महिनापछि फर्किए स्वदेश देउवा

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्किएका छन्। देउवा बिहीबार बैंकक हुँदै नेपाल फर्किएका हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले स्वागत गरेका छन्। कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेताहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, आनन्द ढुंगाना, मोहन बस्नेत र विमलेन्द्र निधिलगायतका नेताहरू देउवालाई स्वागत गर्न विमानस्थल पुगेका थिए।

गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा देउवा र उनकी पत्नी आरजु राणा देउवामाथि आक्रमण भएको थियो। सो क्रममा उनीहरूको निवासमा समेत आगजनी भएको थियो।

त्यसपछि उपचारका लागि सिंगापुर गएका देउवा पछिल्लो पटक थप उपचारका लागि फागुनमा सिंगापुर हुँदै हङकङ पुगेका थिए। करिब साढे पाँच महिनापछि उनी हङकङबाट बैंकक हुँदै बिहीबार नेपाल फर्किएका हुन्। देउवा गत फागुन १३ गते पूर्वमन्त्रीसमेत रहेकी श्रीमती आरजु राणासहित उपचारका लागि सिंगापुर गएका थिए।

देउवा स्वदेश फर्किने खबर पाएपछि उनको स्वागतका लागि कांग्रेसका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।

Leave Your Comment

Related News