काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले आर्थिक वर्ष २०८२/८३ मा ४ अर्ब ५५ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले अघिल्लो आर्थिक वर्षमा कमाएको २ अर्ब ८३ करोड ६० लाख रुपैयाँको तुलनामा गत वर्षको नाफा ६०.६८ प्रतिशतले बढाएको हो।
बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार आम्दानीमा भएको वृद्धि र कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याउनुपर्ने इम्पेयरमेन्ट चार्जमा आएको उल्लेख्य कमीले नाफा बढाउन मुख्य योगदान गरेको छ।
बैंकको मुख्य आम्दानी स्रोत खुद ब्याज आम्दानी अर्थात् गत असारसम्म बैंकको खुद ब्याज आम्दानी १७.८५ प्रतिशत बढेर ११ अर्ब ९६ करोड ६१ लाख ५३ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले १० अर्ब १५ करोड ३९ लाख ७८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
समीक्षा अवधिमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब ६३ करोड ४२ लाख ४२ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १५ अर्ब ५ करोड ६६ लाख ५७ हजार रुपैयाँ र सञ्चालन नाफा ६ अर्ब ४७ करोड ५३ लाख १८ हजार रुपैयाँ रहेको छ । अघिल्लो वर्ष बैंकले खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब ५० करोड ८४ लाख १९ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १३ अर्ब १८ करोड ५५ लाख ८७ हजार रुपैयाँ र सञ्चालन नाफा ३ अर्ब ९४ करोड २० लाख २४ हजार रुपैयाँ रहेको छ ।
गत वर्ष बैंकको वितरणयोग्य नाफा १ अर्ब ७ करोड ६९ लाख ५७ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश वितरण क्षमता ६.८९ प्रतिशत रहेको छ ।
१५ अर्ब ६३ करोड ७३ लाख ७७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३९ अर्ब ३७ करोड ३५ लाख २२ हजार रुपैयाँ रहेको छ ।
गत असारसम्म बैंकको निक्षेप संकलन ३७.११ प्रतिशत बढेर ६खर्ब ८६ अर्ब १३ करोड ५६लाख रुपैयाँ र कर्जा लगानी १३.५९ प्रतिशत बढेर ३ खर्ब ३२ अर्ब ८ करोड ३४ लाख रुपैयाँ प्रवाह गरेको छ ।
अघिल्लो वर्षको असारसम्म बैंकले ५ खर्ब ४१ करोड ४६ लाख रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ९२ अर्ब ३३ करोड ७१ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो ।
अघिल्लो वर्ष १०.२७ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी गत वर्ष बढेर २९.१४ रुपैयाँ पुगेको छ । बैंकको खराब कर्जा ३.७९ प्रतिशतबाट बढेर ३.९५ प्रतिशत पुगेको छ ।
बैंकको नाफा वृद्धिमा कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याइएको रकममा आएको कमीले पनि महत्वपूर्ण भूमिका खेलेको छ।
समीक्षा अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज ६२.०५ प्रतिशतले घटेर ८४ करोड ७९ लाख रुपैयाँमा झरेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो रकम करिब २ अर्ब २३ करोड रुपैयाँ थियो। कर्जा नोक्सानीका लागि छुट्याउनुपर्ने रकममा ठूलो कमी आउँदा बैंकको सञ्चालन मुनाफा र खुद नाफा बढाउन सहयोग पुगेको हो।


