काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका सञ्चालकहरू तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) विरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर भएको विषयमा नेपाल राष्ट्र बैंकले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।
राष्ट्र बैंकले प्रेस विज्ञप्ति जारी गर्दै अभियोगपत्र दायर भएपछि बैंकको सञ्चालन तथा व्यवस्थापनका सम्बन्धमा नजिकबाट अनुगमन गरिरहेको जनाएको हो। विद्यमान कानुनी व्यवस्थाका सन्दर्भमा आवश्यक राय–सुझाव लिने तथा छलफल गर्ने काम भइरहेको राष्ट्र बैंकले स्पष्ट पारेको छ।
राष्ट्र बैंकका अनुसार हाल बैंकको तरलता अवस्थालगायत वित्तीय सबलताका सूचकहरू राष्ट्र बैंकले तोकेको मापदण्डअनुसार सन्तोषजनक रहेका छन्। त्यसैले बैंकको दैनिक कार्य सञ्चालनमा कुनै पनि प्रकारको जटिलता उत्पन्न हुने अवस्था नदेखिएको राष्ट्र बैंकले जनाएको छ।
जिल्ला अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा बैंक सञ्चालनको दैनिक अवस्था, मुद्दाको प्रकृति, समयावधि र गाम्भीर्यलाई आधार बनाएर थप छलफल तथा कानुनी राय लिइने राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले आवश्यकताअनुसार बैंकको सञ्चालक समिति, उच्च व्यवस्थापन तथा बैंक सञ्चालनका सम्बन्धमा कानुनबमोजिम आवश्यक उपाय अवलम्बन गरिने समेत स्पष्ट पारेको छ।


