काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले करार सेवामा विभिन्न पदका लागि २५ जना कर्मचारी माग गरेको छ।
केन्द्रले इन्जिनियरदेखि कम्प्युटर अपरेटरसम्म चार पदमा कर्मचारी माग गर्दै दरखास्त आह्वान गरेको हो। इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले आवश्यक कागजातसहित आगामी भदौ ४ गतेभित्र कार्यालय समयमा आवेदन दिन सक्नेछन्।
केन्द्रका अनुसार सबैभन्दा धेरै तह ७ को इन्जिनियर पदमा १८ जना माग गरिएको छ। उक्त पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट वातावरण, सिभिल, मेकानिकल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स तथा कम्युनिकेसन वा कृषि इन्जिनियरिङमध्ये कुनै एक विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। यस पदका लागि दरखास्त दस्तुर १ हजार २ सय रुपैयाँ तोकिएको छ।
त्यस्तै, तह ६ को प्रशासकीय अधिकृत पदमा दुई जना माग गरिएको छ। यस पदका लागि न्यूनतम स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। उक्त पदमा आवेदन दिन पनि १ हजार २ सय रुपैयाँ दस्तुर बुझाउनुपर्नेछ।
तह ५ को प्राविधिक सहायक पदमा चार जना माग गरिएको छ। प्रविणता प्रमाणपत्र तह वा सोसरह उत्तीर्ण गरी नवीकरणीय ऊर्जा क्षेत्रमा कम्तीमा एक वर्ष काम गरेको अनुभव भएका उम्मेदवारले आवेदन दिन सक्नेछन्। यस पदका लागि ७ सय रुपैयाँ दरखास्त दस्तुर तोकिएको छ।
यसैगरी, तह ४ को कम्प्युटर अपरेटर पदमा एक जना माग गरिएको छ। कक्षा १० उत्तीर्ण गरी कम्प्युटरसम्बन्धी कम्तीमा तीन महिनाको तालिम लिएका उम्मेदवारले ५ सय रुपैयाँ दस्तुर बुझाएर आवेदन दिन पाउनेछन्।
केन्द्रले उम्मेदवारको छनोट करार जनशक्ति छनोटसम्बन्धी कार्यविधि, २०८२ का आधारमा गरिने जनाएको छ। परीक्षा नेपाली वा अंग्रेजी दुवै भाषामा हुन सक्नेछ। लिखित परीक्षाबाट छनोट भएका उम्मेदवार मात्र त्यसपछि हुने अन्तर्वार्तामा सहभागी हुन पाउनेछन्।
आवेदनका क्रममा उम्मेदवारले शैक्षिक योग्यता, नागरिकता तथा अनुभवका प्रमाणपत्रका प्रतिलिपि आफैँले प्रमाणित गरी पेस गर्नुपर्नेछ। परीक्षा दस्तुर राष्ट्रिय वाणिज्य बैंकमा तोकिएको राजस्व शीर्षकमा जम्मा गरी सोको सक्कल भौचर आवेदनसाथ पेस गर्नुपर्ने केन्द्रले जनाएको छ।
दरखास्त फाराम, कार्य विवरण तथा पाठ्यक्रम केन्द्रको आधिकारिक वेबसाइटबाट प्राप्त गर्न सकिनेछ।


