CLI

भारतीय स्थल सेनाध्यक्ष धीरज सेठ आज नेपाल आउँदै

काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठ प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा चारदिने नेपाल भ्रमणका लागि आज अपराह्न काठमाडौं आउँदै छन्।

भ्रमणका क्रममा राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले भोलि राष्ट्रपति कार्यालयमा आयोजना हुने विशेष समारोहमा भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्ने कार्यक्रम रहेको नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए।

मानार्थ महारथीको दज्र्यानी प्रदान गर्ने समारोहपछि नेपाल र भारतका सेनाप्रमुखबीच जङ्गी अड्डामा द्विपक्षीय वार्ता हुने कार्यक्रम छ। वार्तामा दुई देशका सेनाबीचको सहकार्य, तालिम, संयुक्त अभ्यास तथा आपसी सैन्य सम्बन्धका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

नेपाल र भारतबीचको सैन्य सम्बन्ध लामो समयदेखि घनिष्ठ र ऐतिहासिक रहँदै आएको छ। दुवै देशका सेनाबीच उच्चस्तरीय भ्रमण, संयुक्त सैन्य अभ्यास, तालिम तथा अनुभव आदानप्रदान हुँदै आएको छ।

विशेषगरी दुवै देशका सेनाप्रमुखलाई एकअर्काको सेनाको मानार्थ महारथीको पदवी प्रदान गर्ने परम्पराले नेपाल–भारत सैन्य सम्बन्धको विशिष्टता झल्काउँदै आएको छ।

नेपालका प्रधानसेनापतिलाई भारतीय सेनाको मानार्थ महारथी र भारतीय स्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको पदवी प्रदान गर्ने परम्परा सन् १९५० देखि सुरु भएको हो। यो परम्परालाई दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध, पारस्परिक सम्मान र सैन्य सहकार्यको महत्वपूर्ण प्रतीकका रूपमा लिइन्छ।

चारदिने भ्रमणका क्रममा भारतीय स्थल सेनाध्यक्ष सेठले नेपाली सेनाका उच्च अधिकारी तथा अन्य सम्बन्धित पक्षसँग भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ। भ्रमणले नेपाल–भारतबीचको परम्परागत सैन्य सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

Leave Your Comment

Related News