काठमाडौं । सिद्धार्थ म्युचुअल फण्डअन्तर्गत सञ्चालित दुई बन्दमुखी योजनाले इकाईधनीलाई नगद प्रतिफल वितरण गर्ने भएका छन्।
योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल लिमिटेडको भदौ १ गते बसेको सञ्चालक समितिको २०७औँ बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ का इकाईधनीलाई करसहित नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
निर्णयअनुसार सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ का इकाईधनीले ५ प्रतिशत प्रतिफल पाउनेछन्। यस योजनाले कुल ९ करोड ६० लाख रुपैयाँ प्रतिफल वितरण गर्नेछ।
त्यस्तै, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ का इकाईधनीलाई १ ० प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय भएको छ। यस योजनाले कुल ५ करोड ५० लाख रुपैयाँ प्रतिफल वितरण गर्नेछ।
कम्पनीका अनुसार सिद्धार्थ इक्विटी फण्ड (SEF) र सिद्धार्थ इक्विटी फण्ड–२ (SEF2) का इकाईधनीलाई भने यस वर्ष कुनै लाभांश वितरण गरिने छैन।
यी योजनाहरूको लेखापरीक्षण कार्य सम्पन्न भएपछि प्रतिफल वितरण गर्ने निर्णय गरिएको हो। प्रतिफल प्राप्त गर्ने इकाईधनीको दर्ता किताब बन्द (बुक क्लोज) मिति भने पछि छुट्टै सूचना प्रकाशित गरी जानकारी गराइने कम्पनीले जनाएको छ।


