CLI

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह

काठमाडौं । मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न सम्बन्धित परिवारका सदस्य र सरोकारवालालाई आग्रह गरिएको छ ।

निर्वाचन आयोगका सहसचिव नारायणप्रसाद भट्टराईले प्रेस  विज्ञप्ति जारी गर्दै उक्त आग्रह गरेका छन् । आयोगले बेला बेलामा मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक, विश्वसनीय तथा वस्तुगत बनाउन नियमितरूपमा मतदाता नामावली अद्यावधिकको कार्य गर्दै आइरहेको छ ।

मतदाताको मृत्यु पछि एकाघर परिवारका सदस्य वा अन्य कुनै व्यक्तिले मृत्यु दर्ता प्रमाणपत्रसहित सम्बन्धित निर्वाचन कार्यालयमा यथाशीघ्र सूचना दिई मतदाता नामावली अद्यावधिक गर्न सकिने व्यवस्था छ । मतदाता नामावलीलाई अद्यावधिक गर्नु निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वसनीयताको आधार हो । विज्ञप्तिमा भनिएको छ ।  गत फागुन २१ गतेको निर्वाचन पछि गत चैत २२ गतेबाट मतदाता नामावली संकलन तथ्य अद्यावधिक कार्य सञ्चालन हुँदै आएको छ ।

राष्ट्रिय परिचयपत्र भएकाले सोको आधारमा मतदाता नामावलीमा अनलाइन प्रणालीमार्फत नाम दर्ता गर्न सक्ने प्रावधान छ । राष्ट्रिय परिचयपत्र प्रणालीमा आबद्ध नभएका नेपाली नागरिकले आयोगको ‘प्रि–इन्रोलमेन्ट’ प्रणालीमार्फत अनलाइन फारम भरी आफ्नो फोटो तथा औँठाछापसहितको जैविक विवरण दिन सम्बन्धित प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा स्वयं भौतिक रूपमा उपस्थित हुनुपर्छ ।

मतदाता नामावलीमा नाम, थर तथा ठेगाना सच्याउने, एउटै वडाभित्र दुई वा सोभन्दा बढी मतदानस्थल रहेको अवस्थामा मतदातालाई पायक पर्ने स्थानमा नाम सार्ने, नागरिकता अनुसारको विवरण नभएमा नागरिकताअनुसार सच्याउने तथा दोहोरो नाम हटाउनेलगायतका काम अनलाइन माध्यमबाट आवेदन दिन सकिने व्यवस्था छ ।

Leave Your Comment

Related News