काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद प्रकाश पाठकले झापा–३ मा बढ्दै गएको जङ्गली हात्तीको आतङ्क नियन्त्रणका लागि वैज्ञानिक र प्रभावकारी व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
मंगलबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद पाठकले भारतबाट ठूलो सङ्ख्यामा प्रवेश गरेका जङ्गली हात्तीका कारण झापाका विभिन्न क्षेत्रका नागरिकको जनजीवन प्रभावित बनेको बताए।
उनका अनुसार हात्तीको बथानले किसानको धानबाली नष्ट गर्नुका साथै घरमा समेत क्षति पुर्याइरहेको छ। जुनसुकै बेला हात्तीले आक्रमण गर्न सक्ने जोखिमका कारण स्थानीयवासी त्रसित अवस्थामा रहेको उनले बताए।
जलथल जङ्गलमा रहेका हात्तीका कारण हल्दीबारीका सातघरे, अधिकारी चोक, रातमाटेदेखि देउनियासम्मका नागरिक प्रभावित भएको पाठकले जानकारी दिए। त्यस्तै, बाह्रदशीका सुन्दरपुर, तिलबारी, सालघारी र मुजुरमाडी आसपासका किसानसमेत हात्तीको त्रासका कारण बसाइँ सर्नुपर्ने अवस्थामा पुगेको उनले बताए।
कचनकवल र भद्रपुर क्षेत्रमा समेत जङ्गली हात्तीको समस्या उस्तै रहेको उनको भनाइ छ।
हात्ती नियन्त्रणका लागि यसअघि अपनाइएका उपाय प्रभावकारी हुन नसकेको भन्दै पाठकले अब अनुगमन र निरीक्षणमा मात्रै सीमित नभई परिणाममुखी काम गर्न सरकारसँग माग गरे।
‘क्षति भएपछि समवेदना र सहानुभूति प्रकट गर्नुभन्दा सम्भावित क्षति नै हुन नदिनु राज्यको धर्म हो,’ उनले भने।
हात्ती प्रभावित क्षेत्रमा वैज्ञानिक व्यवस्थापनका साथै उच्च क्षमताका ट्रान्सफर्मर जडान र सडकमा सोलार बत्तीको व्यवस्था गर्नुपर्ने उनले बताए। प्रभावित क्षेत्रमा सुरक्षा संयन्त्रको उपस्थिति कमजोर रहेको तथा विद्युत् आपूर्ति कमजोर हुँदा घरमा पर्याप्त प्रकाश नहुने र सडकमा बत्ती नहुँदा जोखिम थप बढेको उनले उल्लेख गरे।
हात्तीको आतङ्कका कारण विशेषगरी बालबालिका र वृद्धवृद्धाको सुरक्षालाई लिएर स्थानीयवासी त्रसित रहेको भन्दै पाठकले सम्भावित क्षति न्यूनीकरणका लागि पूर्वतयारीसहित प्रभावकारी व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराए।


