काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता एवं सांसद ज्ञानबहादुर शाहीले वैदेशिक रोजगारीका नाममा भइरहेको ठगी तथा विदेशमा अलपत्र परेका नेपालीको उद्धारका लागि तत्काल संसदीय छानबिन समिति गठन गर्न सरकारसँग माग गरेका छन्।
मंगलबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद शाहीले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको अवस्था दिनप्रतिदिन दयनीय बन्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराए।
नेपालको अर्थतन्त्र वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्समा निर्भर रहे पनि राज्यले श्रमिकका समस्या र अधिकारप्रति पर्याप्त ध्यान नदिएको उनको आरोप छ। हालसम्म झन्डै २१ खर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको उल्लेख गर्दै उनले श्रमिकले पठाएको रकमबाट राज्य सञ्चालन भइरहेको भए पनि उनीहरूको जीवन र अधिकार भने असुरक्षित रहेको बताए।
शाहीका अनुसार श्रम स्वीकृति लिएर तथा नलिई वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या झन्डै एक करोड पुग्न लागेको छ। तर, विदेश पुगेका नेपालीमध्ये धेरै ठगीमा पर्ने, अलपत्र हुने तथा सम्झौताअनुसार काम र पारिश्रमिक नपाउने समस्या रहेको उनले बताए।
यस्तो अवस्थाका कारण कतिपय नेपाली मानसिक तनावमा परेर आत्महत्यासम्म गर्न बाध्य भएको शाहीको दाबी छ।
वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउने नेपालीको संख्या पनि भयावह रहेको उनले बताए। उनका अनुसार हालसम्म १६ हजार ७ सय ६० नेपालीको शव वैदेशिक रोजगारीका क्रममा मृत्यु भएपछि नेपाल फर्किएको छ।
जापानको उदाहरण दिँदै शाहीले पछिल्लो एक वर्षमा त्यहाँ मृत्यु भएका ७३ नेपालीमध्ये २८ जनाले आत्महत्या गरेको दाबी गरे। कन्सल्टेन्सी तथा विभिन्न गिरोहले कुकिङ र विद्यार्थी भिसाका नाममा युवाबाट ठूलो रकम असुल गरी विदेशमा अलपत्र पार्ने गरेको उनको आरोप छ।
वैदेशिक रोजगारीका नाममा हुने ठगी, श्रमिकमाथिको शोषण तथा विदेशमा अलपत्र पर्ने नेपालीको अवस्थाबारे गम्भीर छानबिन आवश्यक रहेको भन्दै शाहीले तत्काल संसदीय छानबिन समिति गठन गर्न माग गरे।
उनले विदेशमा रहेका नेपाली श्रमिकको सुरक्षा, उद्धार र अधिकार संरक्षणलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताए।


