काठमाडौं । नेकपा (एमाले) की सांसद साजिदा खातुन सिद्धिकीले सरकारका गलत क्रियाकलापलाई प्रतिपक्षले कुनै हालतमा समर्थन नगर्ने स्पष्ट पारेकी छन्।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद खातुनले सरकारको कार्यशैली तथा सत्तापक्षका सांसदहरूको व्यवहारप्रति आपत्ति जनाइन्।
सत्तापक्षबाट प्रतिपक्षलाई धम्कीपूर्ण भाषा प्रयोग भइरहेको आरोप लगाउँदै उनले त्यसको प्रतिवाद गरिन्। मुलुकमा गुण्डाराज सरकारकै संरक्षणमा भइरहेको दाबी गर्दै उनले प्रतिपक्षले त्यस्ता गतिविधिविरुद्ध आवाज उठाउँदा उल्टै गुण्डाको संज्ञा दिनु उचित नभएको बताइन्।
एमाले सांसद खातुनले प्रतिपक्ष दल सधैँ देश र जनताको हितमा उभिने प्रतिबद्धता व्यक्त गरिन्।
‘एकातर्फबाट धम्काउने र अर्कोतर्फबाट आफैँ मलम लगाउन तयार भएको अभिनय गर्ने कार्य स्वीकार्य छैन,’ उनले भनिन्, ‘हामी जस्तोसुकै कठिन परिस्थितिको सामना गर्न र बलिदान दिन तयार छौँ, तर सरकारका गलत कार्यहरूलाई टुलुटुलु हेरेर समर्थन गर्न सक्दैनौँ।’
उनले सरकारका गतिविधिमाथि प्रश्न उठाउने तथा जनताका समस्या सदनमा राख्ने प्रतिपक्षको अधिकार भएको बताइन्। सरकारलाई जवाफदेही बनाउन प्रतिपक्षले निरन्तर आवाज उठाइरहने उनको भनाइ थियो।
सम्बोधनका क्रममा सांसद खातुनले सिराहामा प्रहरीले चलाएको गोलीको घटनाबारे समेत सरकारको जवाफदेहिता माग गरिन्। घटनाको वास्तविकता सार्वजनिक गर्दै दोषीमाथि आवश्यक कारबाही गर्न सरकार गम्भीर बन्नुपर्ने उनले बताइन्।


