CLI
Global College

हिमालयन लाइफ इन्स्योरेन्सले माग्यो सीईओ, भदौ १० गतेसम्म आवेदन दिन सकिने

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आह्वान गरेको छ। कम्पनीले खुला प्रतियोगितात्मक प्रक्रियामार्फत सीईओ नियुक्त गर्न लागेको हो।

कम्पनीका अनुसार सीईओ पदका लागि नेपाल बीमा प्राधिकरणले तोकेको योग्यता पूरा गरेको नेपाली नागरिकले आवेदन दिन सक्नेछन्। उम्मेदवारले मान्यताप्राप्त विश्वविद्यालयबाट व्यवस्थापन, बिजनेस एडमिनिस्ट्रेसन, वित्त, अर्थशास्त्र, लेखाशास्त्र वा बीमा विषयमा स्नातकोत्तर वा सोसरहको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्नेछ। त्यस्तै, मान्यताप्राप्त संस्थाबाट चार्टर्ड अकाउन्टेन्ट (सीए) उत्तीर्ण गरेको उम्मेदवारलाई समेत योग्य मानिनेछ।

उम्मेदवारमा जीवन बीमा व्यवसाय सञ्चालन, बीमा उत्पादन, अन्डरराइटिङ, दाबी व्यवस्थापन, पुनर्बीमा, जोखिम व्यवस्थापन, लगानी तथा वित्तीय व्यवस्थापनलगायत सीईओले सम्पादन गर्नुपर्ने सम्पूर्ण कार्य प्रभावकारी रूपमा सञ्चालन गर्न सक्ने क्षमता र दक्षता हुनुपर्ने कम्पनीले जनाएको छ।

त्यस्तै, बीमा कम्पनीमा कम्तीमा डेपुटी प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा ५ वर्ष काम गरेको अनुभव लगायत नेपाल बीमा प्राधिकरणले तोकेका अन्य योग्यता पूरा गरेको हुनुपर्नेछ।

तोकिएका योग्यता तथा अनुभव पूरा गरेका इच्छुक नेपाली नागरिकले आवश्यक कागजातसहित भदौ १० गतेभित्र आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।

कम्पनीले खुला प्रतियोगितामार्फत सीईओ छनोट गरी नेतृत्वलाई थप प्रभावकारी बनाउने उद्देश्यले आवेदन आह्वान गरेको हो।

Leave Your Comment

Related News