काठमाडौं । कोशी प्रदेशसभाको बुधबार बसेको बैठममा ‘प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक’ सभामा पेस भएको छ।
प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिंथेपले सो विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्दा सभामुख अम्बरबहादुर विष्टले स्वीकृत भएको घोषणा गरेपछि विधेयक सदनमा पेस भएको हो ।
विशेष समय
कोशी प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले विशेष समयमा नवनियुक्त मन्त्रीहरुलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिए।
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रेमराज थाम्सुहाङले जनताको अविभावक सरकारले जनताकै हितमा काम गर्नुपर्ने बताए। उनले सरकारले शिक्षा र स्वास्थ्यका क्षेत्रमा देखिएका अन्यौलतालाई छिनोफानो गर्नुपर्ने बताए।
शून्य समय
शून्य समयमा कोशी प्रदेशसभाका सदस्य सदानन्द मण्डल, गोपालबहादुर विश्वकर्मा, शोभा चेम्जोङ, कमला दर्नाल, गीतारानी महतो र राजेन्द्र कार्कीले प्रदेशको समसामयिक विषयमा बोलेका थिए।
सभामा सभामुख विष्टले प्रदेश प्रमुखको कार्यालयबाट आएका पत्रहरु पढेर सुनाएका थिए । प्रदेशसभाको अर्को बैठक भदौ ४ गते दिउँसो १ः०० बजे बस्नेछ।


