CLI

प्रधानमन्त्री शाह र मन्त्रीहरुबीच कार्यसम्पादन सम्झौता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले चालु आर्थिक वर्षमा सरकारका प्राथमिकता तथा निर्धारित लक्ष्य कार्यान्वयनलाई प्रभावकारी बनाउन मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्री शाह र मन्त्रीहरूले सम्झौतापत्रमा हस्ताक्षर गरी आदानप्रदान गरेका हुन्।

कार्यसम्पादन सम्झौतामा सुशासन, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित प्रमुख काम तथा अपेक्षित उपलब्धि समेटिएका छन्। चालु आर्थिक वर्षमा सरकारले प्राथमिकतामा राखेका कार्यक्रमलाई स्पष्ट नतिजासहित अघि बढाउने उद्देश्यले सम्झौता गरिएको हो।

प्रधानमन्त्री शाहले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ, कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनसँग कार्यसम्पादन सम्झौता गरेका छन्।

त्यस्तै महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सिता बादी, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले पनि प्रधानमन्त्रीसँग सम्झौता गरेका छन्।

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना, कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरी तथा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले पनि प्रधानमन्त्रीसँग कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गरेका छन्।

पूर्वाधार विकासमन्त्री सुनिल लम्साल अस्वस्थताका कारण कार्यक्रममा उपस्थित हुन सकेनन्। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव संसद्को बैठकमा सहभागी हुनुपर्ने भएकाले सम्झौता कार्यक्रममा उपस्थित हुन नसकेको जनाइएको छ।

यसैगरी, नेपाल सरकारका मुख्यसचिव गोविन्दबहादुर कार्कीले पनि प्रधानमन्त्री शाहसँग कार्यसम्पादन सम्झौता गरेका छन्।

सरकारले कार्यसम्पादन सम्झौतामार्फत प्रत्येक मन्त्रालयका प्राथमिकता, लक्ष्य र अपेक्षित उपलब्धिलाई परिणामसँग जोड्ने जनाएको छ। सम्झौतामा समेटिएका कार्यक्रमको कार्यान्वयन तथा प्रगतिलाई नियमित रूपमा समीक्षा गर्ने आधारसमेत यसले तयार गर्नेछ।

Leave Your Comment

Related News