CLI
Global College

फाइनान्स कम्पनीहरुको खुद नाफा १ अर्ब ६४ करोड, लाभांश क्षमतामा कति ?

काठमाडौं । सञ्चालनमा रहेका १७ वटा फाइनान्स कम्पनीहरुमध्ये १६ वटाले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन्। सार्वजनिक वित्तीय विवरण अनुसार समीक्षा अवधिमा १६ फाइनान्स कम्पनीहरुको कुल खुद नाफा १४४.७४ प्रतिशतले बढेर १ अर्ब ६४ करोड ९ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिमा  ६७ करोड ४ लाख रुपैयाँ मात्र थियो।

वित्तीय विवरण अनुसार मञ्जुश्री फाइनान्स लिमिटेड ३७ करोड ६३ लाख ८४ हजार रुपैयाँ नाफा कमाउँदै सबैभन्दा अगाडि रहेको छ, जुन अघिल्लो आवको तुलनामा २०.३६ प्रतिशतको वृद्धि हो। त्यसैगरी, आईसीएफसी फाइनान्स लिमिटेड २६ करोड ४२ लाख रुपैयाँ नाफा कमाएर दोस्रो स्थानमा रहे पनि अघिल्लो आवको तुलनामा यसको नाफामा गिरावट आएको छ। समीक्षा अवधिमा गुडविल फाइनान्सले नाफामा उच्च सुधार देखाउँदै अघिल्लो आवको ५१ लाख १९ हजार रुपैयाँबाट २६६४.७८ प्रतिशतले बढेर १४ करोड १५ लाख रुपैयाँ नाफा कमाएको छ।

नाफाका साथै गुडविल फाइनान्सले कर्जा लगानी र निक्षेप सङ्कलन दुवैमा सकारात्मक सुधार देखिएको छ, जहाँ अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा समग्र कर्जा तथा सापट ४.७९ प्रतिशतले र निक्षेप सङ्कलन ८.८४ प्रतिशतले बढेको छ। यही कर्जा प्रवाह र निक्षेप परिचालनको सुधारले नाफा वृद्धिमा मुख्य योगदान पुर्‍याएको छ।

अर्कोतर्फ, समीक्षा अवधिमा ६ वटा फाइनान्स कम्पनीको नाफामा गिरावट आएको छ। जसमध्ये जानकी फाइनान्सको नाफा सबैभन्दा बढी ९५.४९ प्रतिशतले घटेर ९३ लाख ४३ हजार रुपैयाँमा सीमित भएको छ भने आईसीएफसी फाइनान्स २०.६७%, प्रोग्रेसिभ फाइनान्स ५०.७३%, श्री इन्भेष्टमेन्ट फाइनान्स ३२.८५% र रिलायन्स फाइनान्स २६.२७% को नाफामा  गिरावट  भएको छ।

समग्र वित्तीय विवरण सार्वजनिक गर्ने कम्पनीहरुमध्ये नेपाल फाइनान्स मात्र एक यस्तो कम्पनी बनेको छ जो अघिल्लो आवको तुलनामा ऋणात्मक स्थितिमा पुगेको छ । कम्पनी गत आवमा  ६ करोड ९६ लाख रुपैयाँ खुद घाटामा गएको छ।

नेपालका फाइनान्स कम्पनीहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पछिल्लो वित्तीय विवरण अनुसार कम्पनीहरुको वितरणयोग्य नाफामा तीव्र उतारचढाव देखिएको छ। समीक्षा अवधिमा केही फाइनान्स कम्पनीहरुले आफ्नो नाफा बढाएर सेयरधनीहरुलाई नाफा (लाभांश) बाँड्नसक्ने क्षमता बलियो बनाएका छन् । भने आधा दर्जनभन्दा बढी कम्पनीहरु अझै ऋणात्मक  स्थितिमा रहेका छन्।

वितरणयोग्य नाफा आर्जन गर्ने कम्पनीहरुमा पोखरा फाइनान्स सबैभन्दा अगाडि देखिएको छ, जसको नाफा अघिल्लो वर्षको रु १ अर्ब ४८ करोड ९१ लाखबाट बढेर रु १ अर्ब ८३ करोड पुगेको छ। त्यसैगरी, मञ्जुश्री फाइनान्सले पनि आफ्नो स्थिति मजबुत बनाउँदै वितरणयोग्य नाफा अघिल्लो वर्षको रु३५ करोड ७८ लाखबाट बढाएर रु४२ करोड ७ लाख पुर्‍याएको छ।

अर्कोतर्फ, नाफामै रहे पनि केही कम्पनीहरुको वितरणयोग्य नाफामा गिरावट आएको छ। जसमा सेन्ट्रल फाइनान्सको नाफा रु ३० करोड ५५ लाखबाट घटेर रु २१ करोड ६७ लाख, आईसीएफसी फाइनान्सको रु २४ करोडबाट घटेर रु १४ करोड १७ लाख र श्री इन्भेष्टमेन्ट फाइनान्सको रु ६ करोड ५६ लाखबाट खुम्चिएर रु ४ करोड २ लाखमा सीमित भएको छ। यस्तै, गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले अघिल्लो वर्ष शून्य रहेको स्थितिबाट सुधार गर्दै रु १ करोड ३ लाख नाफा कमाएको छ भने मल्टिपर्पस फाइनान्स र जानकी फाइनान्सको वितरणयोग्य नाफा शून्य नै रहेको छ।

यद्यपि, ६ वटा फाइनान्स कम्पनीहरुको वितरणयोग्य नाफा भने भारी ऋणात्मक स्थितिमा छ। जसमध्ये रिलायन्स फाइनान्स सबैभन्दा बढी रु १ अर्ब ५१ करोड घाटामा रहेको छ भने बेस्ट फाइनान्स रु ४५ करोड ५५ लाख, गोर्खाज फाइनान्स रु ४४ करोड ८४ लाख, नेपाल फाइनान्स रु ३६ करोड ५० लाख, गुडविल फाइनान्स रु ३६ करोड ४२ लाख र प्रोग्रेसिभ फाइनान्स रु ३५ करोड ९५ लाख ऋणात्मक अवस्थामा छन्। समग्रमा, पोखरा र मञ्जुश्री जस्ता कम्पनीहरुले सेयरधनीहरुलाई लाभांश बाँड्ने बलियो क्षमता देखाएका छन् भने बाँकी ऋणात्मक कम्पनीहरुले खराब कर्जा र वित्तीय जोखिम न्यूनीकरण नगरेसम्म लाभांश वितरण गर्न नसक्ने देखिन्छ।

Leave Your Comment

Related News