CLI

पीआर लिएका मुद्रण सहायक वाग्लेसँग स्पष्टीकरण माग

काठमाडौं । मुद्रण विभागले विदेशी मुलुकको स्थायी आवासीय अनुमति (पीआर) लिएका मुद्रण सहायक किरण वाग्लेसँग ३० दिनभित्र स्पष्टीकरण पेस गर्न सार्वजनिक सूचना जारी गरेको छ।

विभागको शिक्षा सेवाअन्तर्गत मुद्रण व्यवस्थापन समूहमा मुद्रण सहायक पदमा पदाधिकार रहेका वाग्ले स्वीकृत असाधारण बिदा समाप्त भएपछि पनि कार्यालयमा अनुपस्थित रहेको विभागले जनाएको छ।

विभागका अनुसार वाग्लेले विदेशी मुलुकको स्थायी आवासीय अनुमति (पीआर) लिएको समेत पाइएको छ। सरकारी सेवामा बहाल रहँदा विदेशी मुलुकको स्थायी आवासीय अनुमति लिएको विषय निजामती सेवा ऐन, २०४९ को दफा ६१ को उपदफा (२) खण्ड (ग) बमोजिम कसुर भएको देखिएको विभागले जनाएको छ।

उक्त कसुरमा ऐनको दफा ५९ को खण्ड (ख) को देहाय (२) बमोजिम सजाय नगर्नुपर्ने कुनै उचित आधार र कारण भए निजामती सेवा नियमावली, २०५० को नियम ११० को खण्ड (क) बमोजिम सफाइ पेस गर्न गत साउन १९ गते सूचना प्रकाशित गरिएको थियो।

तोकिएको समयावधिभित्र सफाइ पेस नगरेकाले वाग्लेलाई निजामती सेवा ऐन, २०४९ को दफा ६१ को उपदफा (२) को खण्ड (ग) बमोजिमको कसुरमा ऐनको दफा ५९ को खण्ड (ख) को देहाय (२) बमोजिम सजाय किन नगर्ने भन्दै पुनः सूचना जारी गरिएको छ।

निजामती सेवा ऐन, २०४९ को दफा ६७ को प्रयोजनार्थ निजामती सेवा नियमावली, २०५० को नियम ११० को खण्ड (ख) बमोजिम ३० दिनभित्र स्पष्टीकरण पेस गर्न विभागले बिहीबार यो सूचना प्रकाशित गरेको हो।

Leave Your Comment

Related News